भूकम्पपछिको पुन:निर्माणका क्रममा तयार भएको सबैभन्दा ठूलो एकीकृत बस्ती भनिएको गोरखाको गोरखाको धार्चे गाउँपालिकास्थित लाप्राक एकीकृत बस्ती । तस्वीर– राष्ट्रिय पुनर्निर्माण प्राधिकरण काठमाडौं– १२ वैशाख २०७२ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्तमध्ये ९३ प्रतिशत निजी आवासको निर्माण सकिएको सरकारले दाबी गरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पुन:निर्माण र पुनर्स्थापनाको प्रमुख क्षेत्र निजी आवास निर्माणको काम ६ वर्षमा ९३ प्रतिशत सम्पन्न भएको छ।
प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राहीमध्ये घर निर्माण शुरु गरेका कूल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १ सय ४ रहेको छ।
तर, तेस्रो किस्तासमेत लिएर प्रमाणिकरण गर्नेको संख्या भने ६ लाख ३८ हजार ५ सय २५ रहेको छ। बाँकीले पनि तेस्रो किस्ता लिने अवस्थामा पुगेको प्राधिकरणको भनाइ छ।
भूकम्पमा घर–गोठ भत्किएर लाभग्राहीको रुपमा सूचीकृत भएकामध्ये पहिलो किस्ता लिनेको संख्या ९९ दशमलभ ८६ प्रतिशत र दोस्रो किस्ता लिनको संख्या ८६ दशमलब ७८ प्रतिशत रहेको प्राधिकरणको दाबी छ। यस्तै, तेस्रो किस्ता लिनेको संख्या भने ७८ दशमल ६६ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले निजी आवास पुन:निर्माणका क्रममा ६ लाख ३४ हजार ९ सय ७३ गुनासहरु सम्बोधन भएको समेत बताएको छ। जोखिम एवम् विपन्न वर्गका लाभग्राहीहरुको घर पुन:निर्माणमा प्राधिकरणले करिब ९ सय घुम्ती डकर्मी र २ सय ५४ जना सामाजिक परिचालकहरु परिचालनसहित विशेष अभियान अगाडि बढाइएको जनाएको छ।
२ सय ९९ वटा असुरक्षित स्थानमा रहेका ४ हजार ७ स्य २० लाभग्राहीहरुलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको र १२ हजार ७ सय ७७ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना गरेको प्राधिकरणको दाबी छ।
यस्तै, क्षतिग्रस्त ९ सय २० सम्पदामध्ये ४ सय ९३ वटाको पुन:निर्माण सम्पन्न भएको र २ सय ८८ वटा पुन:निर्माणको क्रममा रहेका प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।
भूकम्पका कारण ढलेको धरहरा वैशाख ११ गते शनिवार प्रधानमन्त्रीबाट उद्घाटन हुने ज्ञवालीले बताए। क्षतिग्रस्त ४ सय २ गुम्बामध्ये २ सय ९४ वटाको पुन:निर्माण सम्पन्न भएको छ।
पुन:निर्माण गर्नुपर्ने ८ सय ९५ मध्ये १ सय वर्षभन्दा पुराना र २ हजार वर्ग फिटभन्दा बढी 'प्लीन्थ एरिया' भएका २ सय ६४ वटा गुम्बाहरु मध्ये ३६ वटा र १ सय वर्षभन्दा कम र २ हजार वर्ग फिट भन्दा मुनिका ६ सय ३१ गुम्बामध्ये १ सय १ वटा गुम्बाको पुन:निर्माण कार्य अगाडि बढेको ज्ञवालीले जानकारी दिए।
यस्तै, भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ८३ प्रतिशतको पुन:निर्माण सम्पन्न भएको र १७ प्रतिशत विद्यालयको पुन:निर्माण भइरहेको उनले जानकारी दिए।
१ हजार १ सय ९७ स्वास्थसंस्थामध्ये ६ सय ९८ को पुन:निर्माण सम्पन्न भएको र २ सय ९६ को पुन:निर्माण जारी रहेको प्राधिकरणले जनाएको छ।
यस्तै, ४ सय १५ सरकारी भवनमध्ये ९० प्रतिशत भवनको पुन:निर्माण सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सुरक्षा निकायका २ सय १६ वटा संरचना क्षतिग्रस्त भएकोमा २ सय १४ वटाको पुन:निर्माण सम्पन्न भइसकेको प्राधिकरणको भनाइ छ।
प्राधिकरणका अनुसार ७ सय ६२ किलोमिटर सडक पुन:निर्माण गर्नुपर्नेमा ५ सय २५ किलोमिटर सडक निर्माण भइसकेको छ।
पुन:निर्माणका लागि स्वीकृत भएको पञ्चवर्षीय तथा पुनर्स्थापना योजनाअनुसार परिमार्जन कूल बजेट आवश्यकता ४ खर्ब ८८ अर्बमध्ये अहिलेसम्म ३ खर्ब ५७ अर्ब रुपैयाँ खर्च भइसकेको ज्ञवालीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।