काठमाडौं- चालू आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि चैतसम्ममा देशकाे वैदेशिक व्यापार झन्डै १४ प्रतिशतले बढेको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवको ९ महिनामा गत आव २०७६/०७७ को तुलनामा वैदेशिक व्यापार १३ दशमलव ६४ प्रतिशतले बढेको हो।
याे अवधिमा नेपालको कूल वैदेशिक व्यापार १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख ६६ हजार रुपैयाँ बराबरको पुगको छ। तर, गत वर्षको सोही अवधिमा कूल वैदेशिक व्यापार १० खर्ब ६१ अर्ब ३५ करोड ३५ लाख २ हजार थियो।
आयात १३ प्रतिशतले बढ्यो
चालु आवको ९ महिनामा आयात पनि बढेको छ। विभागमा अनुसार आयात १३ दशमलव १२ प्रतिशतले बढेको हाे।

याे अवधिमा नेपालले भारत तथा तेस्रो मुलुकबाट ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँ बराबरको सामान आयात गरिएकाे छ। तर, गत वर्षको सोही अवधिमा नेपालले भारत तथा तेस्रो मुलुकबाट ९ खर्ब ८२ अर्ब ५३ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको सामान आयात गरेको थियो।
निर्यात पनि बढ्यो
चालु आवको ९ महिना निर्यात (निकासी) रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलब २३ प्रतिशतले बढेको छ।
याे अवधिमा भारत तथा तेस्रो देशतर्फ कूल ९४ अर्ब ७६ करोड ७१ लाख १० हजार रुपैयाँ बराबरको सामान निर्यात गरेको छ। तर, गत वर्षको सोही अवधिमा नेपालले ७८ अर्ब ८१ करोड ८६ लाख ६१ हजार रुपैयाँ बराबरको सामान निर्यात गरेको थियो।
व्यापार घाटा बढ्यो
चालु आवको ९ महिनामा वैदेशिक व्यापार घाटा १२ दशमल ४९ प्रतिशतले बढेको छ। नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ।
तर, गत वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार घाटा ९ खर्ब ३ अर्ब ७१ करोड ६१लाख ७९ हजार रुपैयाँ थियो। त्यसमा भारतसँगको व्यापार घाटा मात्रै ६ खर्ब ५६ अर्ब ५१ करोड ५ लाख ५८ हजार रुपैयाँ रहेको छ।
याे अवधिमा भारतबाट नेपालले कूल ७ खर्ब २४ अर्ब ९४ करोड ६३ लाख ४१ हजार रुपैयाँ बराबरको सामान आयात गरेको छ भने ६८ अर्ब ४३ करोड ५७ लाख ५३ हजार रुपैयाँ बराबरको सामान निर्यात गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।