काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत देशभरका आन्तरिक विमानस्थल विस्तार तथा स्तरोन्नतिका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने तयारी गरेको छ।
बजेट निर्माणले तिब्रता लिएको छ। सोही क्रममा अर्थमन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आन्तरिक विमानस्थलको विस्तार तथा स्तरोन्नतिका लागि १ अर्ब ३ करोड रुपैयाँ बराबरको सिलिङमा काम गर्ने गरी बजेट निर्माण गर्ने निर्देशन दिएको छ।
प्राधिकरण स्रोतका अनुसार सोही अनुसार बजेट तयार पारेर अर्थमन्त्रालयमा पठाउने तयारी भएको छ। विमानस्थल विकास तथा स्तरोन्नतिमा विदेशी सहयोग निकायको अनुदान र ऋणमा निरन्तर नै रहनेछ।
सबै गरेर प्राधिकरणका लागि बजेटमा १९ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन हुनेछ। साथै प्राधिकरणले पनि आफ्नो स्रोतबाट थप गरी बजेट तयार गर्नेछ। तर, अर्थमन्त्रालयले सरकारी स्रोतबाट भने प्राधिकरणलाई १ अर्ब ३ करोड रुपैयाँ बराबरको मात्रै बजेट दिने भएको छ।
अहिले प्राधिकरणले विदेशी ऋण तथा अनुदानमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र विस्तार तथा स्तरोन्नति गरिरहेको छ।
साथै प्राधिकरकणले पछिल्लो समय आन्तरिक विमानस्थलहरुमा आधुनिक र सुविधासम्पन्न टर्मिनल भवन निर्माणका लागि पनि तिब्रता दिँदै आएको छ। प्राधिकरणले झन्डै ६ अर्ब रुपैयाँमा विराटनगर र नेपालगञ्ज विमानस्थलमा टर्मिनल भवन समेत बनाउँदै ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।