काठमाडौं- सात प्रदेशका विभिन्न ५० स्थानमा विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि ठेक्का सम्झौता भएको छ।
नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेण्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनबीच मंगलबार ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको हो। एसियाली विकास बैंकको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन एक वर्षभित्रमा सक्नेगरी ठेक्का सम्झौता गरिएको छ।
सञ्चालनमा आएको पाँच वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए। उनले हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिने जानकारी दिए।
चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन्। यसबाट ठूला बससहित तीनवटा सवारीसाधन एकसाथ चार्ज गर्न सकिने छ।
तीन सयभन्दा बढी चार्जरलाई सेवा दिनसक्ने गरी प्राधिकरणको डेटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ। ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ। सवारीसाधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत् बिलको भुक्तानी गर्न सक्ने छन्।
चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा राखिने छ। काठमाडौं उपत्यकामा सातवटा चार्जिङ स्टेसन राखिने छ। प्रदेश १ मा झापाको दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी पाँचवटा चार्जिङ स्टेसन रहने छन्।
प्रदेश २ मा पर्साको वीरगञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी सात वटा चार्जिङ स्टेसन स्थापना हुने छन्।
बागमती प्रदेशस्थित धादिङको मलेखुमा दुई, बीपी राजमार्गको सिन्धुलीमा दुई, मकवानपुरको हेटौंडामा दुई, चितवनको भरतपुरमा दुई तथा मुङलिन/कुरिनटारमा चार र काभ्रेको बनेपामा एक गरी १३ वटा चार्जिङ स्टेसन स्थापना हुने छन्। गण्डकीमा नवलपुर, तनहुँको दमौली, स्याङजामा एक/एक र कास्कीको पोखरामा तीन गरी छ वटा चार्जिङ स्टेसन रहने छन्।
लुम्बिनी प्रदेशमा आठ वटा चार्जिङ स्टेसन रहने छन्। बाँकेको नेपालगञ्जमा १, दाङको भालुवाङ तथा दाङमा एक/एक, रुपन्देहीको बुटवलमा एक, नवलपरासीको बर्दघाट/सुनवलमा दुई गरी आठ वटा चार्जिङ स्टेसन रहने छन्।
कर्णाली प्रदेशमा सुर्खेतमा एक र सुदूरपश्चिम प्रदेशमा तीन वटा चार्जिङ स्टेसन रहने छन्। कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा एक/एक गरी सुदूरपश्चिममा तीन वटा चार्जिङ स्टेसन रहने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।