काठमाडौं– चालु आर्थिक वर्षको दोस्रो चौमाससम्ममा पुँजीगत खर्च ७९ अर्ब ७० करोड रुपैयाँ मात्र भएको छ। विकास खर्च ज्यादै न्यून भएकोमा आलोचना खेप्दै आएको सरकारले चालु आवमा समेत खर्च कम हुने कुरामा सुधार गर्न सकेन।
चालु आवमा सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो। अर्थमन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म संघीय सरकारको कुल खर्च ५ खर्ब ९१ अर्ब २ करोड रहेको छ।
कुल खर्च मध्ये चालु खर्च ४ खर्ब ५५ अर्ब ८२ करोड, पुँजीगत खर्च ७९ अर्ब ७० करोड र वित्तीय व्यवस्था तर्फ ३५ अर्ब ५१ करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ।
गत आवको ८ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा चालु खर्च १.१ प्रतिशत बढेको छ।
तर, पुँजीगत खर्च भने गत वर्षको तुलनामा १७.७ प्रतिशतले घटेको अर्थको भनाइ छ।
यसले हाम्रा विकासे मन्त्रालयले खर्च गर्न नसकेको वा सरकारले निर्माणको काममा पर्याप्त वावावरण नमिलाएको प्रष्ट हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।