काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोग्य वस्तु आयात गर्नुभन्दा लगानी र प्रविधि आयात गरी नेपालमै उत्पादन बढाउने र निर्यात गर्ने काम गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन्।
नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले उक्त आग्रह गरेका हुन्। उत्पादन बढाएर निर्यात बढाउन सके व्यापार सन्तुलन कायम हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने प्रधानमन्त्री ओलीलेको भनाइ छ।
'हामीले आयात गर्ने कुराहरु लगानी र प्रविधि हुन्, उत्पादित वस्तु, उपभोग्य वस्तु हामीले आयात गर्ने होइन। अब जहाँसम्म अति जरुरी छ त्यो हालका लागि आयात गर्नुपर्यो, तर हाम्रा निम्ति आयात नगरी नहुने कुराबाहेक अनावश्यक चिजहरु आयात गर्नु हुँदैन,' उनले भने,'आयात अत्यावश्यक वस्तुको मात्रै, हाम्रो जनजीवनका लागि अत्यावश्यक वस्तुको मात्रै आयात गर्ने, अरु कुरा हामी आफैंले उत्पादन गर्ने। उत्पादन बढी गरेर निर्यात गर्ने वा निर्यातमुलक वस्तुहरुको उत्पादन गरेर निर्यात गर्ने।'
अनावश्यक वस्तुहरु उपभोग गर्न छाडे व्यापार असन्तुलनमा सकारात्मक प्रभाव आउने उनले बताए। उद्योग व्यवसायलाई सरकारले दिने सेवामा एकद्धार प्रणाली लागू गरिएको उनले जानकारी दिए। यस्तै कर्मचारीतन्त्रमा हुने प्रक्रियागत झन्झटलाई समाधान गर्दै सरलीकृत बनाउँदै लग्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
‘ब्युरोक्रयाटिक हडल्स, यो प्रक्रियाको जन्जालभित्र पर्ने कुरा हो। यसलाई पनि सरलीकृत गर्ने। यसमा हामीले अलिकति प्रणालीकै बारेमा, अलिकति प्रक्रियाकै बारेमा पुनर्विचार गर्न जरुरी छ। व्यक्तिलाई मात्रै दोष लगाएर हुने स्थिति छैन,’ प्रधानमन्त्री ओलीले भने।
उनले अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा कोभिड-१९ को प्रभाव कम परेको दाबी गरे। कोभिडको कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको र अर्थतन्त्रमा धक्का भएको भए पनि उठ्नै नसक्नेगरी भने असर नपरेको उनले बताए।
‘कोभिड-१९ को बीचमा पनि अन्यत्रको अर्थतन्त्रमा जति धक्का पर्यो, हाम्रो अर्थतन्त्रमा त्यो धक्का पर्न सकेन। धक्का परेको छ, पीडा परेको छ, पर्यटन क्षेत्र चौपट भएको छ, होटल व्यवसाय चौपट भएको छ। अरु क्षेत्रहरुमा पनि धेरै नोक्सान भएका छन्,' उनले भने, 'त्यसकारण क्षति नभएको होइन, तर फेरि पनि हामीलाई त्यति धक्का परेको छैन जति विभिन्न देशहरुमा परेको छ। एउटा विश्वकै संकटको रुपमा यो महामारी आएको छ र यस महामारीलाई हामीले नियन्त्रण त गरेका छौं।’
प्रधानमन्त्री ओलीले लामो समय बिग्रिएर रहेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन समय लागेको पनि बताए। तर, सरकारले निरन्तर काम गरिरहेकोले विकासका क्रियाकलापले गति लिएको बताए। उनले भने, ‘सरकारले पर्याप्त सहयोग हिजो गरेन आज छोटो समयमा धेरै बिग्रिएको चिजलाई फेरि ट्रयाकमा ल्याउन अलिकति समय लाग्दै छ। तर, समयले अब गति लिँदै छ। हामीले जुन ट्रयाक लिँदै छौं यसले गति लिँदै छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।