फाइल तस्बिर काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ संक्रमण जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।
नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न आग्रह गरेका हुन्। उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउनसक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने बताए।
भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने बताए। ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु- हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ, यदि हामी सावधान भएनौं भने। हामी सावधान हुनुपर्छ अहिलेदेखि भाैतिक दूरी कायम गर्ने, मास्क लगाउने,' उनले भने, 'किञ्चित हामी काभिड-१९ लाई अवसर नदिऔं। मैले भन्ने गरेको छु यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔं।’
प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानि बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए। कोभिड-१९ विरुद्धको खोपले पनि सतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको उनले बताए। ‘अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन। भ्याक्सिनले पनि केही पर्सेन्ट सुरक्षित गर्ने हो, केही पर्सेन्ट बाँकी रहन्छ त्यही केही पर्सेन्टभित्र परियो भने गइगयो नि! त्यसकारण पूर्ण भन्ने कुरा सतप्रतिशत केही पनि छैन, तर हामीले सावधानी अपनाउनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।