फाइल तस्बिर काठमाडाैं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपाल आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरुलाई समाधान गर्न सरकार लागिपरेको बताएका छन्।
शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२औं वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले आयल निगमसम्बन्धी समस्याहरुलाई प्राविधिक रुपमा भन्दा पनि नीतिगत रुपमा समाधान गर्न सरकार लागिपरेको बताएका हुन्।
उनले राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसकेको जानकारी दिँदै थप छलफल गरी ल्याउने तयारी गरिरहेको बताए। यस्तै व्यवसायको आवश्यकतालाई हेरेर पेट्रोल पम्पको इजाजत दिइने पनि मन्त्री भट्टले बताए। कतिपय पेट्रोल पम्पले विचारधाराको आधारमा तेल वितरण गर्ने गरेको आफूले देखेको उनको भनाइ थियो। विपरीत विचार हुनेहरुले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न मन्त्री भट्टले व्यवसायीहरुलाई आग्रह गरे।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र देशलाई समृद्ध बनाउन अगाडि बढिरहेको भए पनि सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताए। निजी क्षेत्र नाफामुखी हुने र सोहीअनुसार कर तिरेर राज्यलाई सहयोग गरिरहेको उनको भनाइ थियो। तर, सरकारले अनुगमनको नाममा उद्योगी व्यवसायीलाई पीडा दिने गरेको अध्यक्ष गोल्छाले बताए। अनुगमन गर्दा आचारसंहिताभित्र बसेर गर्न र कुनै न्यायिक निष्कर्ष ननिस्किएसम्म कुनै पनि उद्योगी व्यवसायीको मानमर्दन नगर्न सरकारसँग उनले आग्रह गरे।
कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीहरुले पेट्रोलियम पदार्थ अर्थतन्त्रको रक्तसञ्चार भएकोले यसको वितरण प्रणालीलाई सहज बनाउनुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।