काठमाडौं- परिमाणमात्मक कोटा तोकेर खुला गरिएका चार वटा वस्तुको आयातका लागि व्यवसायीले निर्धारित कोटाको १५ गुणासम्म आवेदन दिएका छन्। सरकारले एक वर्ष पूर्ण प्रतिबन्धपछि यही चैत ९ गतेबाट परिमाणमा कोटा तोक्दै यी वस्तुको आयात खुला गरेको थियो।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार आयातका लागि तोकिएको कोटाभन्दा केराउमा १५ गुणा, सुपारीमा नाै गुणा, छोकडामा आठ गुणा र नधुल्याइएको मरिचमा १० गुणा बढी आयातका लागि निवेदन परेको हो।
सरकारले अघिल्लो सोमबार गरेको निर्णयअनुसार केराउ वार्षिक ८० हजार मेट्रिक टन, सुपारी २५ हजार मेट्रिक टन, छोकडा ५ हजार मेट्रिक टन र नधुल्याइएको मरिच १५ हजार मेट्रिक टनसम्म आयात गर्न सकिनेछ। तर, वाणिज्य विभागका अनुसार यसरी तोकिएको परिमाणभन्दा निकै बढी माग आवेदन परेको हो।
विभागले उपलब्ध गराएको तथ्यांक हेर्दा केराउ आयात गर्नका लागि २३३ निवेदनबाट १२ लाख २५ हजार २९० मेट्रिक टन, सुपारीका लागि ८५ वटा निवेदनबाट दुई लाख २७ हजार २७० मेट्रिक टन, छोकडा १०१ निवेदनबाट ४१ हजार ९९५ मेट्रिक टन र नधुल्याइएको मरिच १६९ निवेदनबाट एक लाख ४० हजार ८२ मेट्रिक टन माग भएको छ।
गत वर्ष चैतमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले केराउ, मरिच, छोकडा, सुपारी मदिराजस्ता वस्तुको आयातमा पूर्ण रोक लगाएका थिए। यी वस्तुको आयातमा पूर्ण बन्देज लगाउनुको कारण नेपालबाट ठूला मात्रामा बाहिर जाने विदेशी मुद्रा रोक्नु थियो। तर, नयाँ अर्थमन्त्री रुपमा विष्णु पौडेल आएपछि यी वस्तुमा कोटा तोकेर आयात खुला गर्ने सरकारले निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।