काठमाडौं–सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्न नपर्ने कारण भए पेस गर्न भनेको छ।
कार्यालयले मंगलबार एक सूचना जारी गर्दै ७ कम्पनीलाई कालो सूचीमा राख्न नपर्ने भए ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न समय दिएको हो। यसअघि कार्यालयले सम्बन्धित निर्माण व्यवसायीको कार्यालयमा पत्रमार्फत ३० दिन भित्र लिखित स्पष्टीकरण पेस गर्न आग्रह गरेको थियो।
तर, ती निर्माण कम्पनीले तोकिएको समयभित्र कुनै प्रतिक्रिया नदिएकाले कार्यालयले ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न सार्वजनिक सूचना प्रकाशित गरेको जनाएको छ।
कालो सूचीमा राख्नका लागि लिखित स्पष्टीकरण मागिएका ठेकेदार कम्पनीहरुमा नन्दनी कन्स्ट्रक्सन, जिपिबी कन्स्ट्रक्सन, सरस्वती निर्माण सेवा, आशिया कन्स्ट्रक्सन, सौरभ कन्स्ट्रक्सन, सोनु कन्स्ट्रक्सन र दामु चन्द्रकला कन्स्ट्रक्सन, चन्द्रमाला सप्लायर्स रहेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेको सार्वजजिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम ४(क) को प्रयोजनार्थ लिखित स्पष्टीकरण पेस गर्न भनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।