काठमाडाैं- पूर्वी अफ्रिकी देश मोजाम्बिककाे उत्तरी क्षेत्रमा रहेको पाल्मा सहरमा इस्लामिक स्टेट (आईएसआईएस) लडाकूहरूले आक्रमण गर्दा ७ सर्वसाधरण मारिएका छन्। रक्षा मन्त्रालयका प्रवक्ता ओमार सारांगाका अनुसार उक्त क्षेत्रमा बुधवारदेखि एक होटलमा विदेशी नागरिक र कामदारसहित १८० भन्दाबढीलाई बन्धक बनाइएको छ।
उनीहरु भाग्ने काेशिस गर्दा ७ जनामाथि गाेली चलाइएकाे उनले जानकारी दिए। सहर र समुद्री किनारमा टाउको सहितका वा टाउको काटिएका शरीरहरू यत्रतत्र छरिएको कर्नेल लायोनल डाइकले बताए।
केहीदिन अगाडि काबो डेल्गाडो प्रान्तमा तरलतायुक्त प्राकृतिक ग्यास (एलएनजी) साइटको नजिक उक्त लडाकू समूहले आक्रमणमा गरेका थिए।
सोपश्चात एलएसजी र सरकारी कर्मचारीहरू अमारुला पाल्मा होटेलमा शरण लिन पुगेका थिए। उक्त सूचनाको आधारमा लडाकूहरूले बुधबार दिउँसो समुद्री तटमा छापा मारेका थिए।
उनीहरुले सहरमा अन्धाधुन्ध गोली चलाएको समेत स्थानीयवासीहरुले जनाएका छन्। ‘लगभग पूरै सहर ध्वस्त भयो। धेरै मान्छे ज्यान गुमाएका छन्,’ एलएनजी साइटका एक कर्मचारीले शुक्रबार साँझ फोनमा भने।
‘स्थानीयहरू झाडीतिर भागेपछि एलएनजी कम्पनीका कामदार, विदेशी नागरिकलगायतका केही व्यक्ति होटलमा शरण लिएका थिए। लडाकू समूहले अहिले यो स्थान आफ्नो कब्जामा लिएको छ। उनीहरू उद्धारको पर्खाइमा छन्,’ नाम नखुलाउने शर्तमा उनले भने।
पेम्बा बन्दरगाहमा मानिसहरू मालवाहक जहाज, यात्रुवाहक जहाज, टगबोट, मनोरञ्जन बोट जेबाट भए पनि भाग्न कोशिश गरिरहेको बताइएको छ। पाल्माको जनसंख्या ७५ हजार छ। सञ्चार सुविधा अवरुद्ध भएकाले पाल्मामा के भइरहेछ भनी पुष्टि गर्न गाह्रो छ।
बुधवार लडाकूहरूले आक्रमण थाल्दा पसल, बैंक र सेनाका ब्यारेकहरूलाई तारो बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।