काठमाडाैं- पूर्वी अफ्रिकी देश मोजाम्बिक सहरकाे एक हाेटलमा इस्लामिक स्टेट (आईएसआईएस) लडाकू समूहले १८० बढी नागरिकलाई बन्धक बनाएका छन्। अलजजिराका अनुसार तीनदिनदेखि उत्तरी मोजाम्बिक सहरको एक होटलमा विदेशी नागरिक र कामदारसहित १८० भन्दाबढीलाई बन्धक बनाइएको हो।
केही दिन अगाडि काबो डेल्गाडो प्रान्तमा तरलतायुक्त प्राकृतिक ग्यास (एलएनजी) साइटको नजिक पाल्मामा उक्त लडाकू समूहले आक्रमणमा गरेका थिए।
सोपश्चात एलएसजी र सरकारी कर्मचारीहरू अमारुला पाल्मा होटेलमा शरण लिन पुगेका थिए। उक्त सूचनाको आधारमा लडाकूहरूले बुधबार दिउँसो समुद्री तटमा छापा मारेका थिए।
उनीहरुले सहरमा अन्धाधुन्द गोली चलाएको समेत स्थानीयवासीहरुले जनाएका छन्। ‘लगभग पूरै सहर ध्वस्त भयो। धेरै मान्छे ज्यान गुमाएका छन्,’ एलएनजी साइटका एक कर्मचारीले शुक्रबार साँझ फोनमा भने।
‘स्थानीयहरू झाडीतिर भागेपछि एलएनजी कम्पनीका कामदार, विदेशी नागरिकलगायतका केही व्यक्ति होटलमा शरण लिएका थिए। लडाकू समूहले अहिले यो स्थान आफ्नो कब्जामा लिएको छ। उनीहरू उद्धारको पर्खाइमा छन्,’ नाम नखुलाउने शर्तमा उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।