काठमाडौं- ‘सिक, बचत गर र कमाउ’ (लर्न, सेभ एण्ड अर्न) मुख्य नारा रहेको ‘विश्व वित्तीय सप्ताह’ (ग्लोबल मनि विक) वित्तीय साक्षारतासम्बन्धी विभिन्न कार्यक्रम गरेर सकिएको छ। ‘अर्गनाइजेसन अफ इकोनोमिक को–अपरेसन एण्ड डेभलपमेन्ट’ (ओइसिडी) र जी–२० मुलुकहरू समेतको संयोजनमा यो कार्यक्रम एक हप्ता मनाइएको हो।
हरेक वर्ष मार्च २२ देखि मनाइने विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने, वित्तीय ज्ञान, सीप र अभिवृत्तिका साथै व्यावहारिक रूपमा सक्षम बनाउँदै उनीहरूमा विवेकशील वित्तीय निर्णय लिन अभिप्रेरित गर्ने उद्देश्यले मनाइँदै आएको छ।
वित्तीय साक्षारता बढाउने उद्देश्यले चलाइएको यो अभियानमा यो वर्ष विश्वभरका ४ करोड भन्दा बढी बालबालिका समावेश भएको जनाइएको छ। त्यस्तै १ सय ७५ मुलुकका ६३ हजार संघसंस्थाले ४ लाख ६४ हजारभन्दा बढी कार्यक्रम गरेको पनि जनाइएको छ।
नेपालमा पनि नेपाल राष्ट्र बैंक, अरु बैंक तथा वित्तीय संस्था र तथा पुँजीबजारसँग सम्बन्धित संघ संस्थाहरूले विद्यालय र क्याम्पसहरूमा पुगेर वित्तीय साक्षारतासम्बन्धी कार्यक्रम गरेका छन्।
वित्तीय समावेशीकरणमार्फत् समावेशी आर्थिक विकासको लक्ष्य लिएको नेपालमा २० प्रतिशत हाराहारीमा मात्रै वित्तीय साक्षारता रहेको छ। त्यस्तै, वित्तीय पहुँचसमेत सबै स्थानीय तहमा पुगिसकेको छैन।
नेपाल राष्ट्र बैंकका अनुसार गत माघ सम्ममा ७ सय ४९ वटा स्थानिय तहमा मात्रै वाणिज्य बैंकहरूका शाखा पुगेका छन्। प्रदेश नम्बर १ ताप्लेजुङको मिक्वाखोला, बागमती प्रदेश धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिका, कर्णाली प्रदेश जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका र सुदूरपश्चिम प्रदेश बझाङ जिल्लाको साइपाल गाउँपालिकामा बैंकको शाखा पुग्न सकेको छैन।
हालसम्म राष्ट्र बैंकबाट इजाजत पाएका बैंक तथा वित्तीय संस्थाको संख्या १ सय ४३ रहेको छ। यसमध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या १० हजार ३ सय ६६ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।