काठमाडौं– पशुपति क्षेत्र विकास कोषले २ अर्ब भन्दा बढी रुपैयाँको माटो बेच्ने गरी गरेको टेन्डर रद्द गरेको छ।
कोषले फागुन २३ गते गरेको टेन्डर चैत १२ गते सूचना प्रकाशित गरी रद्द गरेको हो। कोषले न्युनतम् २ अर्ब १२ करोड ५० लाख मूल्य कबोल गनुपर्ने गरी ठेक्का आह्वान गरेको थियाे।
कोषले गोठाटारमा रहेको ५३६ रोपनी क्षेत्रफलको जग्गामा रहेको बालुवा, माटो, र ढुंगा निकालेर बेच्न दिने गरी टेन्डर गरेको थियो। बोलपत्र गर्दा कोषले ५३ लाख ७७ हजार ५०३ घनमिटर माटो र बालुवाको ठेक्का लगाउने गरी टेन्डर गरेको थियो।
विकास कोषको माटो बेच्ने विषय एक दशकदेखि विवाद हुँदै आएको थियो। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिमा पशुपतिबाट माटो नपाएको भन्दै सान्जोसेले समेत विमानस्थल स्तरोन्ततिको काम गरेको थिएन।
काम नगरेपछि ठेक्का समेत रद्द भएको थियो। टेन्डरमा ३७ लाख ६४ हजार २७१ घनमिटर बालुवा र १६ लाख १३ हजार २५९ घनमिटर माटो उत्खनन् गर्नुपर्ने उल्लेख थियो।
कोषले बालुवा प्रतिघनमिटर २० रुपैयाँ र माटो प्रति घनमिटर ३ रुपैयाँ ८० पैसा न्युनतम् मूल्य निर्धारण गरेर टेन्डर गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।