काठमाडौं- विभिन्न अवैधानिक श्रोतबाट सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक दम्पतीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ।
नुवाकोटको साविक ककनी गाविस-३ घर भइ काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने रामबहादुर लामाविरुद्ध ७ करोड १२ लाख ८१ हजार ७ सय २७ रूपैयाँ र र उनकी श्रीमती कान्छी लामाविरुद्ध ६९ लाख ५० हजार ५ सय रूपैयाँ बराबर अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो।
गत बैशाख १५ गते अमृतप्रसाद श्रेष्ठले दिएको जाहेरीका आधारमा सम्पत्ति शुद्धीकरणको कसूरमा विभागले जाँचबुझ तथा अनुसन्धान अघि बढाएको थियो। ‘प्रतिवादी रामबहादुर लामाले यातायात व्यवसायको आवरणमा आफ्नो श्रीमती कान्छी लामा समेतलाई प्रयोग गरी ठगीको कसूर अपराध गरेको’, विभागले अदालतमा दर्ता गरेको मुद्दाको व्यहोरामा भनिएको छ, ‘विभिन्न अवधिमा सम्पत्ति आर्जन गरी कसूरबाट प्राप्त सम्पत्ति हो भन्ने जानी जानी कानुनको बर्खिलाप गरी सम्पत्ति शुद्धीकरणको कसूर अपराध गरेको तथ्य पुष्टि हुन आएको छ।’
उनीहरूविरुद्ध बिगोको दोब्बर जरिवाना तथा सजाय हुनुका साथै कसूरबाट प्राप्त गरी शुद्धीकरण गरेको पुष्टि हुन आएको विभिन्न चल/अचल सम्पत्ति जफत गरिनुपर्ने पनि जाहेरीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।