काठमाडौं- नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणा भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेका हुन्। आजबाट नेपाल मासु र अण्डामा आत्मनिर्भर तथा दूधमा आत्मनिर्भरउन्मुख रहेको घोषणा भएको हो।
प्रधानमन्त्री ओलीले आजै दूध ढुवानीको लागि प्रतिक (लोगो) चिन्हको उद्घाटन, धुलो दूधको नयाँ प्याकेजको अनावरणको साथै पशुपन्छी तथा मत्स्य विकासका रणनीतिक कार्ययोजनाको लोकार्पण गरेका छन्।
हाल नेपालमा वार्षिक २३ लाख १ हजार मेट्रिक टन दूध, ५ लाख ४८ हजार मेट्रिक टन मासु, १ अर्ब ६१ करोड गोटा अण्डा र ९१ हजार मेट्रिक टन माछा उत्पादन भइरहेको छ। हालको प्रचलित बजार मूल्यको आधारमा करिब १ खर्ब २२ अर्ब दूधबाट, करिब २ खर्ब ७५ अर्ब मासुबाट, १७ अर्ब अण्डाबाट र ३७ अर्ब माछाबाट गरी कुल ४ खर्ब ५० अर्ब रूपैयाँ बराबरको खाद्यवस्तुको उत्पादन भई आयात प्रतिस्थापन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
विश्व खाद्य तथा कृषि संगठनले प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध, १४ केजी मासु, ४८ गोटा अण्डा उपभोगको लागि सिफारिस गरेको छ। जबकि अहिले नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ७९ लिटर दूध, १८ दशमलव १ केजी मासु, ६१ गोटा अण्डा उपलब्धता छ।
मन्त्रालयका अनुसार प्रत्येक वर्ष ५ लाख देखि ६ लाखको हाराहारीमा आयात हुने बाख्रा अहिले ९७ प्रतिशतसम्म घटेको छ। त्यस्तै राँगा भैंसीको आयात विगत २ वर्ष यता शून्य रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।