कैलाली- कैलालीका स्थानीय तहहरूले पर्याप्त बजेट खर्च गर्न सकेका छैनन्। जिल्लाका सबै जसो स्थानीय तहमा दोस्रो चौमासिकसम्म निकै न्यून बजेट खर्च भएको छ। केही स्थानीय तहमा योजनाहरू नै सुरु हुन सकेका छैनन्।
कैलालीका १३ वटा स्थानीय तहले यस वर्ष पर्याप्त बजेट खर्च गर्न सकेका छैनन्। दोस्रो चौमासिकमा सबै भन्दा बढी कैलारी गाउँपालिकाले ४३ दशमलव ११ प्रतिशत खर्च गरेको छ भने सबैभन्दा कम गोदावरी नगरपालिकाले ३० दशमलव ३९ प्रतिशत खर्च गरेको छ।
धनगढी उपमहानगरपालिकाले ३६ दशमलव १५ प्रतिशत, गौरीगंगाले ३९ दशमलव ६१ प्रतिशत र घोडाघोडीले ३४ दशमलव ५८ प्रतिशत खर्च गरेको छ। टिकापुरले ३५ दशमलव ७ प्रतिशत, भजनीले ३८ दशमलव ५४ प्रतिशत, लम्कीचुहा नगरपालीकाले ३९ दशमलव ४६ प्रतिशत खर्च गरेका छन्।
यस्तै, गाउँपालिकाहरूमा चुरेले ३४ दशमलव ६० प्रतिशत, जानकीले ३१ दशमलव ४२ प्रतिशत, जोशीपुरले ३९ दशमलव ६७ प्रतिशत, बर्दगोरियाले ३१ दशमलव २३ प्रतिशत र मोहन्यालले ३७ दशमलव ६६ प्रतिशत खर्च गरेका छन्।
समग्रमा सबै स्थानीय तहको खर्च ३६ दशमलव ६ प्रतिशत भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक जगतप्रकाश भट्टले बताए।
विगतमा पनि स्थानीय तहले पर्याप्त बजेट खर्च गर्न सकेका थिएनन्। प्रत्येक वर्ष दोहोरिइरहेको असारे विकासका कारणले पनि समयमै बजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले बताएको छ।
यही गतिमा पालिकाहरूले बजेट खर्च गरेमा लक्ष्य पूरा गर्न समेत कठिनाइ हुने भट्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।