काठमाडौं- जनकपुर चुरोट कारखानाबाट उत्पादन भएका चुरोटका ब्रान्ड ब्रान्ड प्रतिस्पर्धात्मक विधिबाट निजी क्षेत्रलाई बिक्री गर्न सुझाव दिइएको छ। रुग्ण सरकारी संस्थानबारे अध्ययन गर्न गठित कार्यदलले कारखानबाट उत्पादन भएका याक र गैंडा चुरोटका ब्रान्ड बिक्री गर्न सुझाव दिएको हो।
उद्योग मन्त्रालयले पूर्वसचिव दीपक सुवेदीको संयोजकत्वमा गठन गरेको समितिले यो सुझाव दिएको हो। जनकपुर चुरोट कारखानाबाट गैंडा, याक र देउराली ब्रान्डका चुरोट उत्पादन हुने गरेका थिए। हाल संस्थामा स्थायी कर्मचारी छैनन् भने कारखानाको सम्पत्ति सुरक्षाका लागि करारमा १३ जना कर्मचारी छन्। संस्थानका ९६० कर्मचारीलाई अवकाश योजना ल्याएर बिदा गरिएको थियो। सरकारले कर्मचारीको दायित्व बहन गर्दै उनीहरूलाई बिदा गरेको थियो।
कमजोर व्यवस्थापनका कारण कारखानाले निजी क्षेत्रसँग प्रतिस्पर्धी क्षमता गुमाउँदा धराशायी हुँदै बन्द भएको थियो। निजी क्षेत्रका चुरोट उत्पादक कम्पनीहरूको बजारमा प्रवेशसँगै सरकारी संस्थानले त्यससँग प्रतिस्पर्धा गर्न सकेन। सरकारको स्वामित्वमा रहेको संस्थानको कमजोर व्यवस्थापन र राजनीतिक हस्तक्षेपले यसलाई कमजोर बनाउँदै लग्यो। जसका कारण कारखाना बन्द भयो।
कारखानामा सरकारले ४ करोड ८ लाख रूपैयाँ प्रत्यक्ष सेयर लगानी गरेको थियो। तर कारखाना कमजोर बन्दै जाँदा उसले सरकारलाई तिर्न बाँकी ऋण आर्थिक वर्ष २०७५/०७६ मा आइपुग्दा २ अर्ब ९४ करोड रूपैयाँ पुगेको थियो। उक्त आर्थिक वर्षसम्ममा कारखानाको खुद नोक्सान २ अर्ब ९० करोड रूपैयाँ थियो भने खुद सम्पत्ति (नेटवर्थ) २ अर्ब ८१ करोड रूपैयाँले ऋणात्मक थियो।
कारखानाको नाममा जनकपुर सहरको बीच भागमा सहरको बीच भागमा करिब ३४ बिगाह जग्गा तथा सोमा बनेको उद्योगको भवन रहेको छ। सो जग्गा हाल प्रदेश सरकारको सचिवालय एवम् मुख्यमन्त्री तथा अन्य मन्त्रीहरुको क्वार्टरका रुपमा प्रयोग भएको छ। सबैजसो मन्त्रालय यसै परिसरमा राखिएको छ।
पूर्णरूपमा सरकारको स्वामित्व रहेको यो कारखाना अहिले बन्द छ। कारखानाको भौतिक संरचना प्रदेश २ ले प्रयोग गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।