काठमाडौं- नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले ३७.६ मेगावाटको काबेली 'ए' जलविद्युत् आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) संशोधन गर्न अस्वीकार गरेको छ। प्राधिकरण सञ्चालक समितिको मंगलबारको बैठकमा पेश भएको प्रस्तावअनुसारको निर्णय गर्न सञ्चालकहरूले नमानेपछि प्रस्ताव अस्वीकृत भएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले काबेली ए जलविद्युत् आयोजनाको लाइसेन्स पाएको बुटवल पावर कम्पनीको अनुरोध भन्दै पिपिए संशोधनको प्रस्ताव पेश गरेका थिए। तर सञ्चालकहरूले तयारी नपुगेको भन्दै यो प्रस्तावमाथि थप छलफल जरुरी भएको बताएका थिए।
'प्रतिस्पर्धाबाट लाइसेन्स दिएको आयोजनाको खुसुक्क पिपिए दर परिवर्तन गर्न ठिक हुँदैन भन्ने राय धेरैको थियो,' स्रोतले भन्यो। विश्व बैंकको समेत लगानी हुने भनिएको आयोजना समयमै काम अघि नबढेपछि अहिले ऊ बाहिरिएको छ।
विश्व बैंक बाहिरिएको अवस्थामा आफूले थप ऋण र स्वपुँजी (इक्विटी) जुटाउने भन्दै बुटवल पावर कम्पनीले पिपिए दर संशोधनको लागि निवेदन दिएको थियो। यसैअनुसार शाक्यले सञ्चालक समितिमा प्रस्ताव लगेका थिए। कम्पनीले सुरुमा ६.२१ सेन्ट् अमेरिकी डलरमा पिपिए गरेको थियो। नयाँ प्रस्तावअनुसार कम्पनीले उत्पादन गरेको बिजुलीको मूल्य हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा हुनेछ।
सञ्चालक समितिका सदस्यहरूले यही प्रस्ताव अस्वीकृत गरिदिएका हुन्। बुटवल पावर कम्पनीले प्रतिस्पर्धाबाट लाइसेन्स पाएको थियो। यो आयोजनामा ऋण लगानी गर्न अर्थ मन्त्रालयले विश्व बैंकसँग ऋण सम्झौता गरिसकेको छ। हाइड्रोइलेक्ट्रिसिटी इन्मेभेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीमार्फत आयोजनालाई विश्व बैंकबाट आउने ऋण दिइने सम्झौता थियो। तर आयोजनाले काम अघि बढाउन नसकेपछि विश्व बैंक बाहिरिएको छ।
आयोजनाको कुल लगानीमध्ये ६० प्रतिशत डलरमा र ४० प्रतिशत नेपाली रुपैयाँमा हुने सुरुवाती सम्झौतामा उल्लेख छ। त्यसैअनुसार नेपाल विद्युत प्राधिकरणले यही अनुपातमा आयोजनाको विद्युत खरिदको रकम भुक्तानी गर्नुपर्ने सुरुवाती सम्झौतामा उल्लेख गरिएको छ।
कुल अनुमानित लागतमध्ये आयोजनामा विश्व बैंकले ४० प्रतिशत, अन्तर्राष्ट्रिय वित्त निगमले ३२ प्रतिशत, स्थानीय बैंकको ८ प्रतिशत ऋण र संस्थापकले २० प्रतिशत लगानी गर्ने सुरुवाती सम्झौता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।