काठमाडाैं- बंगलादेशका प्रहरीले देशकै कठोर इन्टरनेट कानून अन्तर्गत गिरफ्तार गरिएका कार्टुनिस्टलाई जेलमा चरम यातना दिने गरेको खुलासा भएको छ। ढाका अदालतले देशकै कठोर इन्टरनेट कानून अन्तर्गत गिरफ्तार गरिएकाे एक कार्टुनिस्टको घटनालाई छानबिन गर्न प्रहरीलाई आदेश दिएसँगै जेलमा चरम यातना दिने गरेको खुलासा भएको हो।
पूर्वी जेलमा रहेका ४५ वर्षीय कार्टुनिस्ट कबिर किशोरले आफूमाथि चरण यातना भएको दावी गरेपछि घटनाको अनुसन्धान गर्न प्रहरीलाई आदेश दिइएको छ।
किशोरलाई सन् २०२० मेमा विवादास्पद कानून अन्तर्गत पक्राउ गरिएको थियो। उनलाई राज्यविरोधी गतिविधिहरू गरेको र अफवाह फैलाएको आरोप लगाइएको थियो।
उनी दुईसाता अगाडि मात्रै जमानतमा रिहा भएका थिए। साेही कानून अन्तर्गत पक्राउ परेका लेखक मुश्ताक अहमदको फेब्रुअरीमा जेलमा मृत्यु भएको थियो। किशोरले आफू र अहमदलाई एकै कारागारमा राखिएको आरोपसमेत लगाएका छन्। अहमदलाई अज्ञात व्यक्तिले यातना दिएका थिए।
किशोरले बुधबार अदालतमा दिएको निवेदनमा भनिएको छ,‘मलाई लाठीले कुटपिट गरियो र दर्जनौंभन्दा बढी समूहमा रहेका अज्ञात व्यक्तिले थप्पड हाने।’ जेलमा यातना दिने ती व्यक्तिले मे २ मा अपहरण गरे र करिव तीन दिनसम्म राखेका उनकाे दावी छ।
ती अज्ञात व्यक्तिले तीनदिनपछि आफूलाई र्यापिड एक्शन बटालियनको एलिट पुलिस युनिटमा बुझाएकाे उनले बताए। किशाेरका वकिल ज्योतिर्मय बरुआले एएफपीको समाचार एजेन्सीलाई भने,‘अदालतले अनुसन्धान ब्युरो अफ इन्भेस्टिकेशन (पीबीआई)लाई पनि घटनाको छानविन गर्न आदेश दिएको छ।’
बरुआका अनुसार अदालतले ढाका मेडिकल कलेज अस्पतालका तीन जना चिकित्सकलाई किशोरको स्वास्थ्य जाँच गर्न आदेश दिएको थियो र कुटपिट गर्दा चोटपटक लागेको बताइएको छ। यता किशोरको शनिबार दाहिने कानमा शल्यक्रिया गरिएको थियो।
जेलमुक्त भउकाे केही दिन पछि उनले भने, ‘उनीहरूले मलाई थप्पड हानेपछि मेरो दाहिने कानबाट रगत बगेको थियो। पछि मैले शल्यक्रिया नै गर्नुपर्यो।’ र्यापिड एक्शन बटालियनका प्रवक्ता लेफ्टिनेट कर्नल आशिक बिल्लाले अहमद र किशोरलाई जेलमा छँदा यातना नदिइएको दावी गरे।
लेखक अहमदको जेलमा भएकाे मृत्युपछि प्रधानमन्त्री शेख हसीनाको सरकारविरूद्ध धेरै दिन प्रदर्शन गरिएको थियो।आन्दोलनकारीहरूले डिजिटल कानूनहरू हटाउन माग गरेका छन्, जुन सरकारका आलोचकहरूलाई पक्राउ गर्न लागू गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।