काठमाडौं- राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। ४ सय ५६ मेगावाट उत्पादन क्षमताको यो आयोजनामा चैत तेस्रो साताबाट सुरुङमा पानी भर्न थालिने भएकाे हाे।
सुरुङ परीक्षण सफल भए बैशाख पहिलो हप्तादेखि पहिलो युनिटबाट बत्ती बाल्ने तयारी रहेको अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विज्ञान प्रसाद श्रेष्ठकाअनुसार आयोजनाको पहिलो युनिटबाट बत्ती बाल्नका लागि परीक्षण गर्ने काम यही अप्रिल पहिलो साता (चैत तेस्रो साता) बाट सुरु हुँदैछ।
‘अप्रिलको पहिलो हप्तासम्ममा सुरुङमा पानी भरेर परीक्षण गर्ने तयारीमा छौं। पानी भर्ने र सुरुङबाट पठाउने काम भनेको करिब १५ दिन जतिको हुन जान्छ। यो सफल भयो भने पहिलो युनिटबाट बत्ती बाल्न सुरु भइहाल्छ,’ श्रेष्ठले नेपाललाइभसँग भने,‘परीक्षण सफल भएमा बैसाखको पहिलो हप्ताको हाराहारीमा हामी पहिलो युनिट संचालन गर्छौं भन्ने लक्ष्यसाथ काम गरिरहेका छौं।’
श्रेष्ठकाअनुसार माथिल्लो तामाकोशीबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोड्नका लागि प्रशारणलाईन निर्माणको काम पनि सकिसकेको छ। आयोजनाको ६ वटै युनिट संचालनमा आउनका लागि थप केही समय लाग्ने भएपनि पहिलो परीक्षण सफल भएमा अरु काम टुंगाउन सहज हुने उनले बताए।
‘पहिलो युनिट संचालनमा आइसकेपछि अरु युनिटहरुबाट बत्ती बाल्न धेरै समय लाग्दैन। हामीलाई डर भनेको सिभिल संरचनामा समस्या आउँछ कि भन्ने हो। इलेक्ट्रिकलतर्फ समस्या देखियो भने पनि छोटो समयमा समाधान गर्न सकिन्छ,’ श्रेष्ठले भने।
२०७१ साल चैतमा उत्पादन सुरु गर्ने लक्ष्य राखेर निर्माण भएको यो आयोजना बारम्बार भाका सार्दै ६ वर्ष पर धकेलिएर सम्पन्न हुने चरणमा पुगेको हो। टेस्टिङ र कमिसनिङका काम सुरु भएलगत्तै आयोजनाबाट बत्ती बल्न थाल्नेछ।
माथिल्लो तामाकोशी आयोजनालाई गत आर्थिक वर्षभित्रमा नै संचालन गर्ने लक्ष्य राखिएको थियो। तर, कोभिड १९ महामारी र हाईड्रोमेकानिकलतर्फ ठेक्का पाएको भारतीय ठेकेदार कम्पनीका कारण आयोजना पर धकेलिएको थियो।
हाईड्रोमेकानिकल तर्फको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याको इन्जिनियरिङ एण्ड रेल्वे कम्पनीले अन्तिम अवस्थामा काम गर्न नसक्ने भन्दै ढिलाई गरेको थियो। त्यस्तै पेनस्टक पाइप जडानका लागि आवस्यक सामग्री ढुवानी नभएपछि अहिले त्यो काम अस्ट्रेलियन कम्पनी एन्ड्रिज हाईड्रोले गरिरहेको छ। श्रेष्ठकाअनुसार आवस्यक सबै सामग्री अहिले आयोजनास्थलमा आइसकेको छ।
आयोजनामा भर्टिकल पेनस्टक जडानको कामलाई पहिलेको संरचनामा केही परिवर्तन गरेर आयोजना संचालनमा ल्याउन लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।