तस्बिर : निमेषजंग राई। काठमाडौं- पशुपति क्षेत्र विकास कोषले मुल मन्दिरको शिवलिंगमा राखेको सुनको जलहरी तत्काल नहट्ने भएको छ। सुनको जलहरी राख्न नहुने भन्दै दायर भएको रिटमा सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सुनको जलहरी अहिले तत्काल नहट्ने भएको हो।
प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबरा र न्यायधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलास सुनको जलहरी राख्ने विषय कानुन विपरीत रहेको र अन्तरिम आदेश जारी हुने पर्ने भन्दै दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। योसँग पशुपतिमा राखिएको सुनको जलहरीले वैधानिकता पाएको छ।
पशुपतिको मुल मन्दिरमा रहेको शिवलिंगमा फागनु १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पूजाआजा गर्दै सुनको जलहरी अनावरण गरेकी थिइन्। जलहरी अनवार भएकै दिन सर्वोच्चले तत्काल जलहरी राख्ने विषय यथास्थितिमा राख्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो। दुवै पक्षको छलफलपछि अदालतले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
पशुपति क्षेत्र विकास कोषले पशुपतिमा सुनको जलहरी राख्ने विषय काुनन विपरीत रहेको भन्दै सर्वाेच्चमा २ वटा रिट परेका थिए। सर्वोच्चमा रिट परेपछि कोषले हतारहतारमा फागुन १२ गते बुधबार बिहान मात्रै राष्ट्रपतिबाट पूजाआरधाना गर्दै १०८ किलोको सुनको जलहरी अनावरण गरको थियो।
बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले सुनको जलहरी राख्ने कार्य रोक्न माग गर्दै रिट दायर गरेका थिए। तर, रिट दायर भएपनि राष्ट्रपतिले हतारमा जलहरी अनावरण गरेकी थिइन्।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष र कोषको सञ्चालक परिषद्का साथै गुठी संस्थान केन्द्रीय कार्यालयलाई पनि विपक्षी बनाइएको थियो।
पशुपतिको धार्मिक मूल्य र मान्यता समेत विपरीत हुने गरि नेपालको संविधान र कानुनको भावनाविपरीत सरकारले सुनको जलहरी राख्ने काम गर्न लागेको जिकीर रिटमा गरिएको थियो।
अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा बिथोल्ने प्रयास भएकाले अन्तरिम आदेश जारी गरेको तत्काल रोक्न माग गरिएको थियो। सोही अनुसार सर्वोच्चले फागनु १२ गते अन्तरिम आदेश दिएको हो। तर, फागुन १२ गते जारी भएको आदेश सोमबार खारेज भएको हो। ८० करोड रुपैयाँ खर्च गर्दै कोषले १०८ किलो सुनको जलहरी राखेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।