काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिको मूल मन्दिरको शिवलिंगमा सुनको जलहरी राखेकै दिन सर्वोच्च अदालतले तत्काल सुनको जलहरी नराख्न अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सुनको जलहरी राख्ने काम तत्काल नगर्न अन्तरिम आदेश जारी गरेको हो।
'सर्वोच्च अदालतले स्मारक संरक्षण ऐन २०१३ उल्लेख गर्दै पशुपतिनाथको मन्दिरभित्र सुनको जलहरी राख्ने कार्य तत्काल नगर्न नगराउन अन्तिरम आदेश जारी गरिएको छ,' सर्वोच्चले जारी गरेको अन्तरिम आदेशमा भनिएको छ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिमा सुनको जलारी राख्ने विषय काुनन विपरीत रहेको भन्दै सवोच्चमा २ वटा रिट परेका थिए। सर्वोच्चमा रिट परेपछि कोषले हतारहतारमा बुधबार बिहान मात्रै राष्ट्रपतिबाट पूजाआरधाना गर्दै १०८ किलोको सुनको जलारी अनावरण गरिएको थियो।
सुनको जलरी राख्ने विषयमा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले उक्त कार्य रोक्न माग गर्दै मंगलबार रिट दायर गरेका थिए। तर, रिट दायर भएपनि राष्ट्रपतिले हतारमा जलहरी अनावरण गरेकी थिइन्।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष र कोषको सञ्चालक परिषद्का साथै गुठी संस्थान केन्द्रीय कार्यालयलाई पनि विपक्षी बनाइएको थियो।
पशुपतिको धार्मिक मूल्य र मान्यता समेत विपरीत हुने गरि नेपालको संविधान र कानुनको भावनाविपरीत सरकारले सुनको जलहरी राख्ने काम गर्न लागेको जिकीर रिटमा गरिएको थियो।
अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा बिथोल्ने प्रयास भएकाले अन्तरिम आदेश जारी गरेको तत्काल रोक्न माग गरिएको थियो। सोही अनुसार सर्वोच्चले अन्तरिम आदेश दिएको हो।
८० करोड रुपैयाँ खर्च राखिएको १०८ किलो सुनको जलहरी राखी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरणपछि पूजाआराधना गरेकी थिइन्।

‘पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ,’ पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भनेका थिए, ‘पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकिएको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।