काठमाडौं– विशेष अदालतले पूर्व राज्यमन्त्री एवं पूर्वसांसद सञ्जय साह ‘टक्ला’सँग सम्पत्ति शुद्धीकरण मुद्दामा ५० लाख धरौटी माग गरेको छ।
विभागले साह विरुद्ध ३२ करोड ४ लाख ५० हजार सम्पत्ति गैरकानुनी आर्जन गरेको दाबी गर्दै विशेषमा चैत १६ गते मुद्दा दायर भएको थियो। साहले विभिन्न गैरकानुनी गतिविधिबाट रकम आर्जन गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान ऐन विपरीत कार्य गरेको दाबी गर्दै अर्थ मन्त्रालय अन्तर्गत रहेका सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो।
कर्तव्य ज्यान र व्यक्ति अपहरण मुद्दामा थुनामा रहेको तथा धरौटी बुझाउन अस्वीकार गरेकाले साहलाई हाल थुनामै पठाइएको विशेष अदालतका रजिष्ट्रार भीमप्रसाद श्रेष्ठले बताए।
विशेषले शुद्धीकरण मुद्दाको एक महिना लामो बयान र थुनछेक बहसपछि सोमबार धरौटी माग गरेको हो। थुनामा रहेकाले धरौटी बुझाउन अस्वीकार गरेपछि नख्खु कारागार पठाइएको रजिष्ट्रार श्रेष्ठले बताए।
न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले साहको शुद्धीकरण मुद्दामा आरोपितहरुको बयान बैसाख १० गतेदेखि सुरु गरेको थियो। साहको सम्पत्ति शुद्धीकरण विभागले उनीसहित १३ जनालाई विपक्षी बनाएको थियो।
जनकपुर बमकाण्ड र सञ्चार उद्यमी अरुण सिंघानिया हत्याको मुख्य अभियुक्तको मुद्दामा पनि धनुषा जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालतको आदेशले थुनामा रहेका साह विरुद्ध अदालतमा विचाराधीन मुद्दा तीन वटा छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सांसद साह विरुद्ध दायर गरेको ३१ करोडको भ्रष्टाचार मुद्दाको पेसी समेत सोमबार तोकिएको थियो। तर, उक्त मुद्दा हेर्न नभ्याउने हुँदै सुनुवाइ सरेको छ। साहले सांसद र मन्त्री हुँदा पदको दुरुपयोग गर्दै ३१ करोड बराबरको रकम अवैध आर्जन गरेको दाबी अख्तियारको छ।
सम्पत्ति शुद्धीकरण विभागको २ वर्ष लामो अनुसन्धान प्रतिवेदन अनुसार साहले हत्या, अपहरण, फिरौती, जबर्जस्ती असुली लगायत अपराधजन्य गतिविधिबाट आर्जन गरेको चल-अचल गरी ३२ करोडको सम्पत्ति भेटिएको आरोपपत्रमा उल्लेख छ। विभागले उनी तथा आफन्तका नाममा भएको चल-अचल सम्पत्ति समेत छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई २ वर्षअघि जिम्मा दिएको थियो।
साहलाई २०६९ बैसाख १८ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जानेगरी भएको बम विस्फोट र २०६६ फागुन १७ मा सञ्चार उद्यमी सिंघानिया हत्याका मुख्य योजनाकार भएको अभियोग लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।