वीरगन्ज– चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका क्रममा उत्पन्न विवाद समाधानका लागि बोलाइएको वीरगन्ज महानगरपालिकाको विशेष नगरसभा नेपाली कांग्रेसले बहिष्कार गरेको छ।
वीरगन्जको आदर्शनगरस्थित होटल पुजनमा जारी महानगरपालिकाको २१औँ नगरसभा (विशेष नगरसभा) मा कांग्रेसबाट निर्वाचित उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरू पार्टीको निर्देशनअनुसार सहभागी भएका छैनन्।
नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिले असोज १३ गते विज्ञप्ति जारी गर्दै महानगरपालिकाले आह्वान गरेको विशेष नगरसभामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई सहभागी नहुन निर्देशन दिएको थियो। कांग्रेस पर्साका सचिव दिनेशकुमार चौधरीद्वारा जारी विज्ञप्तिमा उपमेयरदेखि वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यसम्मलाई कुनै पनि अवस्थामा सभामा सहभागी नहुन भनिएको थियो।

पार्टीको उक्त निर्णयअनुसार आज आयोजित विशेष नगरसभामा उपप्रमुख इम्तियाज आलमसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा वडा सदस्यहरू अनुपस्थित छन्।
बजेट कार्यान्वयनलाई लिएर महानगरपालिकामा देखिएको विवाद समाधान गर्न बोलाइएको सभामै प्रमुख राजनीतिक दल कांग्रेसका जनप्रतिनिधि सहभागी नभएपछि वीरगन्ज महानगरको राजनीतिक विवाद थप पेचिलो बनेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।