काठमाडौं– तत्कालीन प्रहरी महानिरीक्षकसहित १० जना मुछिएको सशस्त्र प्रहरीको सामान ढुवानीमा भ्रष्टाचार मुद्दाको अन्तिम सुनुवाइ दोस्रो पटक सरेको छ।
सोमबार तोकिएको पेसीलाई पूर्वमहानिरीक्षक कोषराज वन्तका कानुन व्यवसायीले निवेदन दिँदै सारेका हुन्। यसअघि बैसाख १० गते पनि उनीहरुले भ्रष्टाचार मुद्दाको अन्तिम सुनुवाइ निवेदन दिएर सारेका थिए।
सर्वोच्च अदालत नियमावलीमा पक्ष अदालत उपस्थित हुन नसक्ने अवस्था सिर्जना भएमा मात्र सार्न पाउने व्यवस्था छ। तर, वन्तका कानुन व्यवसायीहरुले पक्षका सबै कानुन व्यवसायीहरु काठमाडौंमा उपलब्ध नभएको कारण जनाउँदै विशेष अदालतको मुद्दा एक महिना पछाडि सारेका हुन्। कानुन व्यवसायीहरुद्य मोरङ जिल्ला अदालतमा ३८ सय किलो सुन मुद्दामा बहस गर्न गएका छन्।
तत्कालीन महानिरीक्षक वन्तसहित ११ जना विपक्षी रहेको मुद्दा दुई वर्षदेखि विशेष अदालतमा विचाराधीन छ।
उक्त मुद्दाको पेसी न्यायाधीशहरु रत्नबहादुर बागचन्द, नारायणप्रसाद पोखरेल र चण्डीराज ढकालको इजलासमा तोकिएको थियो। यसअघि नै थुनछेक बहस भई अन्तिम सुनुवाइ थाल्ने तयारी अदालतले गरेको थियो। पक्षबाट निवेदन दिएपछि मुद्दा दुई सातापछि सरेको विशेष अदालतले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक वन्तसहित ११ जना विरुद्ध २०७२ माघ १८ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सामान ढुवानी नै नगरी वन्तसहितका प्रहरी अधिकृतहरुले फर्जी बिल पेश गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपमा उल्लेख छ।
वन्तको निर्देशनमा लेखा प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिनबहादुर थापाले सदाज्योति तथा अदिती ट्रान्सपोर्टका सञ्चालकहरुसँगको मिलेमतोमा खाली एवं विभिन्न युनिटमा सामान पठाएको भन्ने व्यहोराको झुठा बिल मार्फत रकम भुक्तानी लिँदै भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
झुठो विवरण उल्लेख गरेका बिल झिकाई सशस्त्र प्रहरी निरीक्षक थापाले लेखा शाखामै कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षकहरू निलबहादुर श्रेष्ठ, देवेन्द्रकुमार श्रेष्ठ, लेखबहादुर खत्री र सशस्त्र प्रहरी जवान मिलन अधिकारी समेतलाई प्रयोग गरी भण्डार शाखाले भुक्तानीको लागि बिल पठाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। सशस्त्र प्रहरी जवान अधिकारीलाई फर्जी हस्ताक्षर गर्न लगाई ६ करोड ७९ लाख ४१ हजार ७ सय ६ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।
अख्तियारले भ्रष्टाचार प्रकरणमा संलग्न ट्रान्सपोर्टका सञ्चालकहरु समेतलाई मागदाबी गर्दै विशेषमा आरोपपत्र दायर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।