रसुवा- नेपाल-चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा नयाँ ट्रयाक खोलिएको छ।
आइतबार दिउँसो स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डको स्याफ्रुबेँसीमा सडक भासिएपछि नयाँ ट्रयाक खोलिएको हो। सडक डिभिजन कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय रसुवाको समन्वयमा आइतबार राति ९ बजेबाट सडक सुचारु गरिएको प्रहरी नायब उपरीक्षक शरत कुमार थापा क्षेत्रीले बताए। 'सडकमा ह्युमपाइप राख्नका लागि तयारी भइरहेको छ,' उनले भने, 'सडक निर्माणको कार्य आज पनि बिहानैदेखि जारी छ। दिउँसोबाट सामग्री बोकेका कन्टेनर सञ्चालन हुनेछन्।'
नयाँ ट्रयाक खोलिएसँगै साना सवारी सञ्चालनमा आएका छन्। मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको २० मेगावटको लाङटाङखोला जलविद्युत आयोजनाको लापरबाहीका कारण सडकको संरचनामा क्षति पुगेको डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले बताए।
जलविद्युत आयोजना निर्माण गर्दा डिभजन सडक कार्यालय नुवाकोटसँग समन्वय नभएको उनको भनाइ छ। सडक भासिएर खोलामै पुगकाले जलविद्युत आयोजनाले निर्माण गरिरहेको छ।
यो सडक हुँदै दैनिक २ सयभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।