काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल 'प्रचण्ड'-माधवकुमार नेपाल पक्षले सरकारले नागरिक आन्दोलनमा सहभागीहरू माथि सरकारले दमन गरेको भन्दै भर्त्सना गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध बृहत नागरिक आन्दोलनले सोमबार आयोजना गरेको बालुवाटार मार्चमा सरकारले लाठी चार्ज गर्दै दमन गरेको थियो।
'शान्तिपूर्ण कार्यक्रममा सरकारले निर्मम लाठी चार्ज गरी क्रुर दमन गरेकोमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोर भर्त्सना गर्दछ,' प्रचण्ड-माधव पक्षको केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
'लोकतन्त्रको स्थापना र संविधान निर्माणमा नेपाली नागरिक समाजको ऐतिहासिक भूमिका अविस्मरणीय रहेको छ। नागरिक समाजका तिनै अगुवाहरुले आज संविधान र लोकतन्त्रको रक्षाको निम्ति संघर्षमा उबदा गरिएको घोर दमनबाट सरकारको चरम अलोकतान्त्रिक एवं निरंकुश चरित्र उदाङ्गो भएको छ,' विज्ञप्तिमा भनिएको छ।
सरकारी दमनलाई चुनौती दिँदै 'नागरिक आन्दोलन'ले सञ्चालन गरेको संघर्षप्रति उच्च सम्मान रहेको समेत प्रचण्ड माधव पक्षको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।