काठमाडौं– एजेन्सी–ब्रिक्स समूहको १८औँ शिखर सम्मेलन शनिबार भारतको राजधानी नयाँदिल्लीस्थित भारत मण्डपममा सुरु भएको छ। ‘लचिलोपन, नवीनता, सहयोग र दिगोपनका लागि निर्माण’भन्ने मुलधेयका साथ सुरु भएको सम्मेलन भारतको अध्यक्षतामा दुई दिनसम्म चल्नेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ र इरानी राष्ट्रपति मसुद पेजेस्कियानसहित सदस्य राष्ट्रका नेताहरूलाई स्वागत गरिसकेका छन् ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी, इथियोपियाका प्रधानमन्त्री आबी अहमद, इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोलगायत नेताहरू सम्मेलनमा भाग लिन आएका छन् ।
सम्मेलनकै अवसरमा प्रधानमन्त्री मोदीले शनिबार नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजित ‘भारत इनोभेट्स’ प्रदर्शनीको अवलोकन गरेका थिए ।
प्रदर्शनीका क्रममा खिचिएका दृश्यहरूमा प्रधानमन्त्री मोदी चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियानसँगै उभिएको देखिएको थियो।
यसअघि प्रधानमन्त्री मोदीले शिखर सम्मेलनमा ‘नयाँ दिल्ली घोषणा २०२६’ सर्वसम्मत रूपमा पारित भएको घोषणा गरेका थिए ।
‘कुनै पनि सदस्यले आपत्ति जनाएका छैनन्। नयाँ दिल्ली घोषणा २०२६ सर्वसम्मत रूपमा पारित गरिएको छ,’ मोदीले सम्मेलनमा भने ।
भारतले ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको यो चौथोपटक हो । पश्चिम एसिया र युक्रेनमा जारी युद्धले ऊर्जा आपूर्ति तथा जल यातायातमा बाधा पु¥याइरहेको, ‘ट्यारिफ’को दबाब बढिरहेको चुनौतीको सामना गर्ने विषयमा सदस्यहरूबीच मतभेद रहेको अवस्थामा ब्रिक्सको शिखर सम्मेलन भइरहेको हो ।(एएनआइ)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।