काठमाडौं–शिक्षामन्त्री सस्मित पोखरेलले सिरहामा आयोजित अन्तरक्रिया कार्यक्रमबाट आफूहरू बाहिरिनुको कारण दुई व्यक्तिले हल्ला गरेर कार्यक्रम प्रभावित पार्ने अवस्था सिर्जना गर्नु रहेको बताएका छन्।
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि मधेश प्रदेशका विभिन्न जिल्लामा सुझाव संकलन गरिरहेका पोखरेलले घटनाको छोटो भिडियो क्लिप काटेर भ्रम फैलाउने प्रयास भएको दाबी गरेका छन्।
उनका अनुसार सिरहा र सप्तरीमा आयोजित अन्तरक्रियामा १०० भन्दा बढी विद्यार्थी, शिक्षक तथा अभिभावक सहभागी थिए। सबैका सुझाव सुन्ने उद्देश्यले कार्यक्रम भइरहेको बेला दुई जना व्यक्ति आएर हल्ला गरेपछि अन्य सहभागीको सहभागिता प्रभावित हुने अवस्था बनेकाले कार्यक्रमस्थलबाट बाहिरिएको उनले स्पष्ट पारे।
‘दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बन्यो र हामी कार्यक्रमस्थलबाट बाहिरिएका हौँ,’ पोखरेलले भनेका छन्।
उनले एक मिनेटभन्दा छोटो भिडियो क्लिप काटेर सामाजिक सञ्जालमा सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याइएको आरोप लगाए। लोकतान्त्रिक व्यवस्थामा असहमति जनाउने अधिकार सबैलाई भए पनि पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउन नहुने उनको भनाइ छ।
पोखरेलले घटनापछि पनि शिक्षा सुधारसम्बन्धी अभियान नरोकेको बताएका छन्। त्यसपछि सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गरेको उनले बताए।
उनका अनुसार एकै दिन करिब ८ देखि १० वटा विद्यालयमा पुगेर राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सुझाव संकलन गरिएको छ।
विद्यालय शिक्षालाई व्यवहारिक, सीपमूलक रसमयसापेक्ष बनाउने उद्देश्यले आगामी शैक्षिक सत्रदेखि ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ जस्ता अवधारणा कार्यान्वयनमा ल्याउने तयारी भइरहेको पनि उनले बताए।
मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र शिक्षाका क्षेत्रमा भइरहेका कामप्रति असन्तुष्टि राख्नेहरूले भ्रम फैलाएको हुनसक्ने पोखरेलको दाबी छ। आफूहरू राजनीतिक स्टन्टका लागि नभई शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले स्थलगत रूपमा सुझाव संकलन गर्न आएको उनले बताएका छन्।
‘हल्लाभन्दा काम ठूलो हो,’ पोखरेलले भनेका छन्, ‘हाम्रो काम र नियतको मूल्याङ्कन जनता स्वयंले गर्नेछन्।’
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।