बाबियाचौर– म्याग्दीकाे बेनी नगरपालिका–१ आनन्दबगरमा वस्ती संरक्षणको बहानामा जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य वस्तु चोरी–निकासी भएको छ।
जिल्ला समन्वय समितिसँग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन गर्न पाइने नीतिगत व्यवस्था विपरीत सेभेनस्टार युवा क्लवका पदाधिकारीले वस्ती संरक्षणको बहानामा उपकरणको प्रयोग गरेर कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा चोरी–निकासी गरेका छन्। आनन्दबगरमा नदीजन्य पदार्थको उत्खनन र निकासीका लागि कसैले पनि अनुमति नलिएको र सम्झौता विपरीत डोजर, व्याकलोडरको प्रयोग गरेर उत्खनन गर्नु अवैध काम भएको जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले बताए।
चैत अन्तिम र वैशाख ५ गते प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खननमा प्रयोग भएका उपकरण जफत गरेर जिल्ला समन्यवय समितिमा बुझाए पनि नीतिगत अस्पष्टताको कारण देखाउँदै राजनीतिक दबाबमा पुनः उत्खनन नगर्ने सहमति गराएर छोडिएको थियो।
क्लवका पदाधिकारीले नदीजन्य पदार्थको उत्खनन गरेकामा गल्ती स्वीकार गर्दै अव उत्खनन नगर्ने लिखित प्रतिबद्धता विपरीत केही दिनयता पुनः चोरी–निकासी गरिरहेका स्थानीयवासीले बताएका छन्। नदीको धार र स्वरुप परिवर्तन हुने गरी डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन गर्दा बस्ती संरक्षणको साटो जोखिम बढेको छ ।
आनन्दबगरमा खेलमैदान विस्तार र नदी कटान नियन्त्रणका लागि भन्दै ढुङ्गा, गिट्टी र बालुवा बेचेर आयस्रोत जुटाउन क्लवले ५ लाख रुपैयाँमा विनोद हमाललाई ठेक्कामा दिएको सेभेनस्टार युवा क्लवका अध्यक्ष लालबहादुर थापा (माइकल)ले बताए।
नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको सिफारिसमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेर खेलमैदान सम्याउने र संरक्षण गरिए पनि बिक्री नभएको थापाले दावी गर्दै आएका छन्। दिउँसो नदीजन्य वस्तु उत्खनन र राति चोरी–निकासी गर्ने गरेको स्थानीयवासीले बताएका छन्।
प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले नगरपालिकाका प्रमुख श्रेष्ठको लिखित पत्राचारपछि पहिले उत्खनन गर्दा परेको खाडल पुरेर नदीलाई पुरानै स्वरुपमा लैजाने र खेलमैदान फिलिङ गर्नका लागि मात्र नगरप्रमुख श्रेष्ठको सिफारिसमा अनुमति दिएको बताए। क्लवका पदाधिकारीले प्रतिबद्धता विपरीत काम गरेको सूचना पाएपछि शनिबार दिउँसो प्रहरी पठाएर उत्खनन रोक्न निर्देशन दिएको अधिकारीले बताए।
नगरप्रमुख श्रेष्ठले अलपत्र अवस्थामा छोड्दा बस्ती कटानको जोखिम भएकाले खाल्डाखुल्डी पुर्न र संरक्षणका लागि सहमति दिए पनि बिक्रीवितरण गर्नु गलत काम भएको र त्यस्तो नगर्न निर्देशन दिने प्रष्ट पारे।
स्थानीयवासीको विरोध र दबाबका कारण चालु आर्थिक वर्षमा जिससले आनन्दबगरको नदीजन्य पदार्थको ठेक्का लगाएको थिएन। प्रहरीले अवैध र जथाभावी रुपमा नदीको दोहनमा प्रयोग भएका सवारीसाधन र उपकरण नियन्त्रणमा लिए पनि कारबाही नभएकाले यस्तो गतिविधि मौलाएको प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले स्विकारिन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।