काठमाडौं– शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लम्फु'को मुख्य अभिनेता हुन् कविर खड्का। अभिनय यात्रामा उनको यो डेब्यु फिल्म हो।
अभिनयमै आफ्नो भविष्य देखेका कविर लम्फु आफ्नो पहिलो 'ड्रिम प्रोजेक्ट' रहेको बताउँछन्। उनीसँग नेपाल लाइभका मनोज न्यौपानेले गरेको कुराकानी :
लम्फु कस्तो पात्र हो?
दर्शकको आँखामा लम्फु भनेको एउटा जोकर, लोफर र उद्देश्यहीन एक युवा हो।
उद्देश्यहीन युवाको चरित्र निर्वाह गर्ने कविर खड्का चाँहि?
अभिनयका लागि भोकाएको एउटा पात्र हो कविर खड्का। र, राम्रो अभिनेता बन्नका लागि जतिसुकै मेहनत गर्न लालायित कलाकार।
डेब्युका लागि लम्फु नै किन छनोट गर्नुभयो?
पहिलो फिल्ममै प्रमुख भूमिका पाउन नेपालमा नयाँ कलाकारलाई धेरै मुस्किल छ। नाता सम्बन्धबाहेक अडिसनबाट अभिनेता छान्ने प्रक्रिया खासै छैन। तर मैले अडिसन दिएरै मुख्य भूमिका पाएँ। अर्को, लम्फु मेरो कला र अभिनय यात्राको ढोका हो; जहाँबाट छिरेर म अभिनयको संसारमा पुग्न सकूँ।
तपाईंको उद्देश्य चाहिँ के हो?
लम्फुबाट नव कलाकारको रुपमा आएको छु। दर्शकहरुले मेरो अभिनय मन पराइदिनुभयो भने थप मेहनततिर लाग्नेछु। र, एकदिन सुपरस्टार बन्ने सपना मसँग छ।
सुपरस्टार हुनलाई त निकै गाह्रो छ नि!
फिल्ममा अभिनयले मात्र पुग्दैन। उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट निर्देशन, उत्कृष्ट प्रविधि, प्रि–प्रोडक्सन, पोस्ट प्रोडक्सनसँगै प्रचारप्रसारमा पनि उतिकै ध्यान दिनुपर्छ। कलाकारहरुले पनि उतिकै मेहनत दिनुपर्छ। अभिनय खार्दै जाने हो भने लक्ष्य पूरा गर्न गाह्रो छैन।
यसका लागि त व्यस्त भइराख्नुपर्यो। संख्यामा ध्यान दिँदा गुणस्तरीयता त खस्किने भयो नि?
अवश्य पनि गुणस्तरमा ध्यान दिनेछु। मलाई वर्षमा एउटा फिल्म गर्न पाए पुग्छ।
एउटा फिल्ममा अभिनय गरेको पारिश्रमिकले एक वर्ष धान्न सकिएला त?
सकिन्छ जस्तो लाग्छ। किनकि म दुई वर्षदेखि लम्फुमा व्यस्त छु। छोड्ने नमिल्ने या उत्कृष्ट स्क्रिप्ट भएको फिल्म आइलाग्यो भने एउटा कलाकारले अभिनय नगर्ने भन्ने चाहिँ हुन्न।
अभिनेताहरुको पारिश्रमिकको खुब चर्चा हुने गरेको छ। तपाईंको पारिश्रमिकको रेट चाहिँ कति?
खै! कति… कति…। मलाई आफनो रेट नै थाहा छैन। हाहाहा…
ठूलो सपना बोकेर फिल्मी दुनियाँमा छिरेका कलाकारहरु एकदुई फिल्म खेलेर पलायन हुने गरेका छन्। अभिनय गरिहेरौं भनेर क्षणिक अनुहार देखाउन मात्रै आउनुभएको त होइन?
कतिपय कलाकार होलान्, एकपटक हिरो बनौं न त भनेर क्षणिक सोचले एक्स्पेरिमेन्टका लागि आउने। तर म कलाकारिता र अभिनयको भोकले आएको हो। मसँग ठूलो उदेश्य छ। म क्षणिक अनुहार देखाउनका लगि होइन कि कलाकारितामा केही गर्न आएको हुँ।
अभिनय छोड्नुपर्यो भने कुन विकल्प हुनेछ तपाईंसँग?
कुनै योजना नै छैन। जे सोचेर अभिनयमा आएँ, मात्र अभिनय। अभिनयकै कारण फिल्म उद्योगमा टिक्न सकिनँ भने क्यामेरापछाडि बसेर काम गर्छु तर फिल्म उद्योग नै त्याग्न सक्दिनँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।