दाङ– यहाँका स्थानीय तहमा कर्मचारीको अभाव देखिएको छ।
जिल्लाभरका स्थानीय तहका ३० वटा वडा सचिवविहीन अवस्थामा रहेका छन्। कतिपय स्थानमा १ जना सचिवले दुईवटा वडा हेर्दै आएका छन्। यसले गर्दा स्थानीयवासीले सहजरुपमा वडाबाट सेवा पाउन सकेका छैनन्।
वडावासीले सम्बन्धित वडाबाट हुने कामका लागि सचिव भेट्न पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ। सचिव भेटाउन करीब साता दिन धाउनुपर्ने र कामका लागि महिना दिनसम्म पनि लाग्ने गरेको स्थानीयवासीले गुनासो गरेका छन्। यसले उनीहरुलाई परिवर्तनको प्रत्याभूतिको साटो झनै समस्या थापिएको महशुस भएको छ।
स्थानीय तहमा कर्मचारीको अभावका कारण काम कारबाही प्रभावकारी हुन सकेको छैन। जिल्लामा भएका केही कर्मचारीलाई व्यवस्थापन गरिए पनि जिल्लाका अधिकांश स्थानीय तहमा समस्या देखिएको जिल्ला समन्वय अधिकारी कृष्ण गौतम बताउँछन्।
‘जिल्लामा आएका कर्मचारीलाई स्थानीय तहको आवश्यकतानुसार व्यवस्थापन गर्ने गरेका छौँ।,’ गौतमले भने,‘तर जिल्लामै सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाउँदा स्थानीय तहमा समस्या देखिएको छ।’
घोराही र तुलसीपुर उपमहानगरपालिकाबाहेक जिल्लामा सबै स्थानीय तहमा कर्मचारी अभाव देखिएकोसमेत उनले बताए।
‘जिल्लामा करीब ३० देखि ४० जनासम्म वडा सचिवको आवश्यकता देखिएको छ। त्यत्तिकै मात्रमा अन्य कर्मचारीको समेत अभाव छ।,’ जिल्ला समन्वय अधिकारी गौतमले भने,‘जिल्लामा कर्मचारी छैनन्, मन्त्रालयले कर्मचारी पठाउँदैन।’
जिल्लाका बंगलाचुली, राजपुर, गढवा, बबई, दंगीशरण, शान्तिनगर गाउँपालिकालगायतका स्थानीय तहमा कर्मचारीको अभाव रहेको बताइन्छ।
देउखुरी राजपुर गाउँपालिकाका वडा नम्बर १, २ र ३ को काम एकै सचिव मेघसिंङ पछार्इंले हेर्दै आएका छन्। साबिक बेला गाविसअन्तर्गत रहेका तीन वडाको सम्पूर्ण काम आफूले विगत असार महिनादेखि हेर्दै आएको सचिव पछाइ बताउँछन्।
राजपुर गाउँपालिकामा ८ वडा रहेका छन् जसमा अहिले दुई जना मात्र सचिव रहेका छन्। वडासचिव नभएका वडामा लेखापाल तथा प्रविधिज्ञले वडाको काम गर्ने गरेको गाउँपालिकाका अध्यक्ष लोकराज केसी जानकारी दिए।
त्यस्तै, गढवा गाउँपालिकामा पनि ८ वडामध्ये अहिले दुईमा मात्र सचिव रहेका छन्। बाँकी ६ वडामा लेखापाल तथा प्रविधिज्ञले सचिवको काम गर्ने गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।