काठमाडौं– नेपाल र भारतका प्रधानमन्त्रीबीच शुक्रबार यहाँ प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भएको छ।
सौहार्दपूर्ण वातावरणमा भएको उक्त वार्तामा नेपाल–भारत सम्बन्धका सबै पक्षमा विचार विमर्श भएको बताइएको छ।
नेपालको भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको द्विपक्षीय उक्त वार्तामा पारस्पारिक हित र चासोका विषयमा छलफल भएको वार्तापछि प्रधानमन्त्री ओलीले सञ्चारकर्मीलाई बताए।
पारस्पारिक लाभका क्षेत्रमा कसरी सहकार्य गर्ने र विगतमा दुई मुलुकबीच भएका समझदारीको कार्यान्वयनमा पनि आफूहरुले जोड दिएको उनले जानकारी दिए।
छिमेकीसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको र त्यो नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण पक्ष भएको बताउँदै उनले नेपाल–भारत सम्बन्धलाई २१औँ शताब्दी सुहाउँदो तुल्याउन आफूहरुले गहन छलफल गरेको स्पष्ट गरे।
उनले भने,‘दुई देशबीचको सम्बन्धलाई समयानुकूल तुल्याउन तथा विगतका सन्धिसम्झौताको समीक्षा गरी दुवै देशका सरकारसमक्ष पेश गर्न गठित नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन सहयोगी हुनेछ।’
नेपाल र भारतबीच पारस्पारिक विश्वास एवं आत्मियता अभिवृद्धि भएको जानकारी दिँदै क्षणिक लाभका निम्ति केही अवाञ्छित तत्वले हाम्रो घनिष्टता र मैत्रीमा आँच पुर्याउन नसक्ने जिकिर गरे।
नेपाल र भारत दुवै देशमा शान्ति र स्थायित्व कायम भएकाले दुवै राष्ट्र र जनताको प्रगति आफूहरुको एकमात्र ध्येय भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भारतसँग विगतमा भएका सन्धि–सम्झौता र समझदारी कार्यान्वयनमा आफूहरुले सम्बन्धित निकायलाई निर्देशन दिने सहमति भएको बताए।
पञ्चेश्वर जलविद्युत् आयोजना, ऊर्जा क्षेत्रमा भएको समझदारी, डुबान र बाढीका समस्या मात्र नभई नेपालीसँग रहेका ५ सय र १ हजार दरका भारतीय नोट सटही सुविधा प्रदान गर्न आफूले प्रधानमन्त्री मोदीसमक्ष अनुरोध गरेको ओलीले जानकारी दिए।
भारत र नेपाललाई जोड्ने दार्चुला जिल्लामा मोटर सञ्चालन हुने गरी चार ‘लेन’को पुल निर्माण गर्नेलगायत कृषिको आधुनिकीकरण, सूचना तथा सञ्चार प्रविधिको अधिकतम् उपयोगमा भारतबाट पूर्ण सहयोग हुनेबारेमा आफूहरुले छलफल गरेको प्रधानमन्त्री ओलीले जानकरी दिए।
वार्तामा गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार, स्वास्थ्य राज्यमन्त्री, मुख्यसचिव, परराष्ट्रसचिव, ऊर्जा सचिव, वाणिज्य सचिव, कृषिसचिव, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलगायत नेपाल सरकारका अन्य उच्च पदाधिकारीको उपस्थिती रहेको थियो।
भारतीय प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीको कार्यालय र बाह्यमामिला मन्त्रालयका उच्च अधिकृतको उपस्थिति थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।