पोखरा– चिठी आदानप्रदानको समय अहिले लगभग सकिएको छ। इमेल र इन्टरनेटको जमाना आएपछि भने न विदेशबाट चिठी आउँछ न सहरबाट आफन्तको। सबै जिल्लाका हुलाक कार्यालयका कर्मचारी खाली समय गुजारिरहेको खबर आइरहन्छ। तर, पश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालय कास्कीले भने फरक किसिमबाट आफ्नो सेवा दिइरहेको छ।
निर्देशनालयमा अहिले पनि काम गर्ने कर्मचारीको अभाव खड्किरहन्छ। पहिले–पहिले चिठीपत्र बोकेर घरघर पुग्ने कर्मचारीलाई अहिले सेवाग्राहीले गरेका अनलाइन सामग्री ठेगानामा पुर्याउन हम्मेहम्मे परेको छ।
फरक ढंगबाट अस्तित्व बचाइराखेको निर्देशनालयमा अहिले कर्मचारी अभाव भएपछि काममा समस्या आएको निर्देशनालयका निर्देशक गोपालप्रसाद शर्माले बताए। अरु क्षेत्रका हुलाकमा कर्मचारी बढी भएको समाचार सुनिए पनि कास्कीमा भने कर्मचारी अभावले काममा अवरोध सिर्जना भएको शर्माको भनाइ छ।
निर्देशक शर्माले कार्यालयमा अहिले निजामती दरबन्दीको आवश्यकता तर्फ १ सय ३९ जना रहे पनि ५७ जनाको पद रिक्त भएको जानकारी दिए। रिक्त पदमा हुलाकी र हल्काराको बढी मात्रामा कमी छ। कार्यालयमा सेवा प्रवाहमा मुख्य भूमिका निवाह गर्ने हुलाकी पदमा नैै ४६ जनशक्तिको अभाव छ। ‘त्यसमध्ये १५ जना सेवा करारबाट लिएका छौं। ३१ जना कर्मचारीको अझै अभाव छ,’ उनी भन्छन्, ‘कर्मचारीको अभाव छ, पदपूर्ति भयो भने काम अझै प्रभावकारी रुपमा लैजान सक्छौं भन्ने लाग्छ।’
शर्माले हुलाक सेवालाई छिटो र भरपर्दो बनाउन हुलाक सेवा विभागका तर्फबाट आर्थिक वर्ष २०७३÷०७४ मा ६ वटा हेभी ट्रक र इको भ्यान ६ वटा खरिद गरेर सेवा दिइरहेको बताए।
‘पोखरा महानगरमा पनि जनघनत्व बढेकाले महानगरलाई ४ वटा इको भ्यान माग गरेका छौं, त्यो आएपछि मोबाइल सेवा उपलब्ध हुन्छ।’ महानगरले माग पूरा गरे र कर्मचारी दरबन्दी भएमा काम अझ प्रभावकारी ढंगले गर्ने बताउँदै शर्मा भन्छन्, ‘साधन र स्रोत भयो भने अहिलेको भन्दा दोब्बर काम गर्छौंं।’
कास्की जिल्लामा हाल ५१ वटा हुलाक इकाइ, १३ इलाका हुलाक, ३७ अतिरिक्त हुलाक कार्यालय रहेकव् नायब सुब्बा कमला शर्माले बताइन्।
‘पहिलेजस्तो घरायसी चिठी आदानप्रदान हुँदैन तर अनलाइन काम धेरै हुन्छ,’ उनले भनिन्, ‘कार्यालयमा अहिले पोखरेलीले माग गरेको विदेशी अनलाइनका सामान पु¥याउने काम गर्छ।’ कार्यालयका हल्काराले २० किलोग्रामसम्मको सामान पुर्याउने काम गरिरहेको उनले नेपाल लाइभलाई बताइन्।
निर्देशनालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ करोड १४ लाख ८१ हजार ५ सय २६ रुपैयाँ राजश्व असुल गरेको खरिदार अञ्जना शर्माले बताइन्। ‘अघिल्लो आर्थिक वर्षमा १ करोड ३५ लाख आम्दनी भएको र यस वर्ष १ करोड ४० लाख असुल गर्ने अनुमान गरेका छौं,’ उनले भनिन्।
हुलाकलाई व्यवसायीकरण गर्ने कि सेवामुखी बनाउने भन्ने विषयमा केन्द्रित रहेको निर्देशक शर्माले बताए। उनले भने, ‘प्राधिकरण बनाउने या सेवामूलक नै बनाउने कुरा टुंगो लागिसकेको छैन।’
निर्देशनालयमा अहिले पनि दिनमा ४ सयको हाराहारीमा चिठी पत्र आउने र धेरैजसो पोस्ट कार्ड र संस्थाका चिठी आउने खरिदार अञ्जना शर्माले जनाइन्। निर्देशनालयमा अहिले १३ केबल टेलिभिजन, २३ एफएम रेडियो र १२ पत्रपत्रिका दर्ता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।