बुटवल- विपद् व्यवस्थापनाका लागि उपयोगी हुने सामग्री भण्डारण र प्रकोपपूर्वको तयारीका लागि बुटवलमा प्रदेशस्तरीय सहायता कक्ष बन्ने भएको छ।
बुटवल उपमहानगरपालिका परिसरमा निर्माण गरिने भण्डारण केन्द्रमा विपद् व्यवस्थापनका लागि अत्यावश्यक सामग्री राखिनेछ। साथै, तालिमप्राप्त प्राविधिक समेत तयारी अवस्थामा रहनेछन्।
सहायता कक्ष बनाउने विषयमा उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए) बीच बिहीबार सम्झौता भएको छ। उपमहानगरले विपद् व्यवस्थापनका लागि आफैंले योजना बनाइरहेका बेला यूएनएफपिएले बुटवलमै प्रदेश स्तरको भण्डारण केन्द्र स्थापनाको प्रस्ताव गरेपछि सम्झौता गरिएको नगर प्रमुख शिवराज सुवेदीले बताए।
सम्झौतासँगै अब बुटवलमा युएनएफपिएले विपद् व्यवस्थापनका लागि आवश्यक उद्दार सामग्रीसहितका दुई ठूला कन्टेनर राख्ने भएको छ। त्यसको सबै व्यवस्थापनको जिम्मा उपमहानगरको हुनेछ। अधिकांश सामग्रीहरु विपद्का बेलामा किशोरी र महिलाहरुका लागि लक्षित हुनेछन्।
‘कुनै पनि विपद्का बेला महिला र बालिकाहरु अर्को हिंसामा पर्ने गरेको पाइएको छ त्यसैले उनीहरुलाई आवश्यक पर्ने सामग्री धेरै हुनेछन्’, यूएनएफपिएका नेपाल उप–प्रमुख क्रिस्टिन ब्लकहुसले बताइन्।
यससँगै रेडक्रसबाट प्राविधिक तालिम दिने उच्चस्तरीय टोली यहा आएर उपमहानगरपालिकामा विपद् व्यवस्थापनको तालिम दिनेछ।
अहिले भएका सामग्री र तयारी अपूर्ण भएकाले दाताहरुको खोजी गर्ने र थप योजना बनाउनेगरी काम अगडि बढाएको नगरप्रमुख सुवेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।