काठमाडौं- मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको ६ दिन बितिसकेको छ। यसले मुलुकको शीर्ष संस्थाहरुबीच द्वन्द्व बढाएको छ।
राष्ट्रपतिले शुक्रबार नवनियुक्त मन्त्रीहरुलाई शितल निवासमा सपथ खुवाइन्। सपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना उपस्थित थिए।
धेरैलाई जिज्ञासा जागेको हुनुपर्छ - प्रतिनिधि सभा नै विघटन भइसकेको अवस्थामा अग्नि सापकोटाचाहिँ सभामुखै छन् र?
संविधानले उनको पद कायमै रहेको देखाउँछ। प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने व्यवस्था संविधानको धारा ९१ काे उपधारा ६ (क) मा गरिएको छ।
त्यसो त, सभामुख आफैंले संसद् जीवित रहेको आशयसहितको विज्ञप्ति जारी गरेका छन्। ‘संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ,' पुस ८ गते जारी सभामुखको विज्ञप्तिमा भनिएको छ।
सभामुखले प्रतिनिधि सभा विघटनलाई पनि अवरोधको रुपमा व्याख्या गरेका थिए। ‘नेपालको संविधानको धारा ९३ (१) बमोजिम यही २०७७ पुस १७ गतेभित्र संघीय संसदको सातौं अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्यासित रुपमा प्रतिनिधि सभामाथि अवरोध सृजना गरिएकोमा सिंगो प्रतिनिधिसभा र मलाई मर्माहत बनाएको छ,' उनको भनाइ थियो।
त्यस्तै, नेकपाको एक पक्षले प्रतिनिधिसभा विघटन गरेको स्वीकार गरेको छैन। उनीहरुले सभा जिवितै रहेको भन्दै शुक्रबारदेखि सडक संघर्ष सुरु गरेका छन्। जसपाले केही दिनयता मुलुकभर प्रदर्शन गरिरहेको छ। जसपाका शीर्ष नेताहरुले बिहीबार मात्रै सापकोटालाई भेटेर संसद बैठक बोलाउन माग गरेका थिए।
यो विषय अदालतमा पनि पुगेको छ। आजै मात्र संवैधानिक इजलासमा बहस भएको थियो। सर्वोच्चले सभा विघटनको कारण माग गरेको छ।
सभामुख किन मन्त्रीहरुको सपथ ग्रहण समारोहमा सहभागी भए त? यसलाई किन बहिस्कार गरेनन्? स्वभाविक प्रश्न हुन्। यसअघि सरकारले बोलाएको संवैधानिक परिषद्को बैठक उनले वहिष्कार गरेका थिए। त्यसैले मन्त्रीमण्डल पुनर्गठन पनि बहष्कार गर्न सक्थे।
सापकोटाका स्वकीय सचिव गोविन्द पाठक सभामुखले प्रतिनिधिसभा जीवितै रहेको रुपमा लिएको बताउँछन्। 'प्रधानमन्त्रीको कदम असंवैधानिक भएकाले प्रतिनिधिसभा जीवितै छ। त्यसैले सूचना पाएपछि उहाँ कार्यक्रममा सहभागी हुनुभयो,' उनले भने।
* यसअघि याे समाचारमा अन्यथा पर्न गएकाले सच्याइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।