काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री र आफू विशेष महाधिवेशनप्रति दृढ रहेको बताएका छन् ।
शेबहादुर देउवा पक्षले पाँच वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको केहीबेरमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘मेरो प्रतिक्रिया केवल यत्ति छ- कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दुवै दृढ छौँ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ ।’
विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको भन्दै अब सही नेतृत्व दिने समेत उनले बताए ।
साथै शर्माले सहमतिका लागि के कस्ता बुँदा प्रस्तुत गरिएको थियो भनेर समेत प्रस्तुत गरेका छन् ।
उनका अनुसार सहमतिका लागि प्रस्तावित ८ बुँदा थिए । उनले ति बुँदा उल्लेख गर्दै भनेका छन्, ‘कुन बुँदा कांग्रेस र देशको अहितमा थियो र छ ?’
शर्माका अनुसार विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने, विशेष महाधिवेशन परिमार्जनसहित पारित प्रस्तावहरू कार्यान्वयन गर्ने, सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने, उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने लगायतका विषय सहमतिका लागि प्रस्तुत गरिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।