काठमाडौं- शुक्रबारसम्म सरकारमा रहिरहेका उद्योगराज्यमन्त्री मोतिलाल दुगडलाई आफू हट्नुपर्छ भन्ने कुनै कल्पना नै थिएन। उखु किसान र उद्योगीका बीचमा वार्ता नहुनुको कारण राज्यमन्त्री भएको भनी आरोप लागिरहेको भएपनि उनले आफू एक्कासी राति हटाइने उनले सोचेका थिएनन्। तर दिनभर शान्त रहेको राजनीतिमा चार बजेपछि एक्कासी मन्त्रिपरिषद् विस्तार भएको तरङ्गले राजनीति तात्यो।
सुरूमा प्रचण्ड-नेपाल समूहमा असन्तुष्ट रहेका पूर्वमाओवादीहरुलाई मन्त्री बनाउने नामावली सार्वजनिक भयो। मणी थापा, प्रभु साह, दावा लामासहितको नाम चर्चामा आयो। लगत्तै दोस्रो चरणमा ओलीनिकट केही नेताहरुको नाम थप हुने विषयमा सार्वजनिक हुन थाले।
यसरी जिम्मेवारी परिर्वतन हुँदा दुई मन्त्रीको भने जिम्मेवारी खोसियो। यसरी जिम्मेवारी गुमाउने मन्त्रीहरू हुन् युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड। उनीहरुलाई मन्त्रिपरिषद्बाट हटाएर नयाँ मन्त्रीलाई प्रधानमनत्री ओलीले नियुक्त गरेका हुन्।
विश्वकर्मा २ चैत २०७४ मा खेलकुदमन्त्री बनेका थिए भने दुगड ८ मंसिर ०७६ मा भएको मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बनेका थिए।
विश्वकर्माको ठाउँमा प्रचण्ड समूहबाट ओलीलाई साथ दिन आएका दावा लामालाई खेलकुद मन्त्री बनाइएको छ। सिन्धुपाल्चोकबाट प्रदेशसभा सांसदको पदका लागि उठेर पराजित भएका लामा पहिलो पटक मन्त्री भएका हुन्। यस्तै दुगडको स्थानमा बिमला विश्वकर्मालाई उद्योग राज्य मन्त्री बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।