काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले पौष २० गतेपछि संसद विघटनविरूद्ध आन्दोलन गर्ने भएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले पौष २० गतेपछि माघ मसान्तसम्म पालिका र वडा तहसम्म प्रचारात्मक र संघर्षका कार्यक्रमको परिचालन गरिने बताएका हुन्।
‘पौष २० गते सबै जिल्लामा जिल्ला स्तरीय संघर्षका कार्यक्रमको आयोजना गरिनेछ‚’ विज्ञप्तिमा उल्लेख गरिएको छ‚ ‘संघर्षका कार्यक्रम विभिन्न जिल्लाले आफ्नो स्थितिअनुसार निश्चित गर्नेछन्। त्यस प्रकारका कार्यक्रममा सभा, जुलुस, मोटरसाइकल र्याली, कोणसभा, पर्चा वितरण, मसाल जुलुस आदि गर्न सक्नेछन्।’
हाललाई राजावादी आन्दोलनलाई छाडेर संसदको विघटनविरुद्ध संघर्षमा उत्रने विज्ञप्तिमा बताइएको छ। विघटित संसद पुनर्स्थापना नै पार्टीको मूख्य माग हुने जनाइएको छ।
‘पौष १९ गतेसम्म संघर्षको तयारीका लागि प्रचारात्मक कार्यहरु गरिनेछ। त्यसअनुसार १९ गतेसम्म प्रदेश स्तरमा जुम स्तरका कार्यशालाहरुको आयोजना गरेर आन्दोलनको पक्षमा बढीभन्दा बढी प्रचार र तयारी गर्ने प्रयत्न गरिनेछ‚’ विज्ञप्तिमा भनिएको छ‚ ‘वैधानिक मोर्चा र जनवर्गीय संगठनहरुले २० गते वा त्यसपछि पुरै माघ महिनाभरि आफ्नो स्वतन्त्र पहलकदमीमा वा आपसमा मिलेर विभिन्न स्तरमा संघर्षका कार्यक्रम संचालन गर्न सक्नेछन्।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।