काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटन संविधान विपरीत भएकोमा सबै दल एकमत रहेको दाबी गरेका छन्। बबरमहलस्थित पार्टीको केन्द्रीय कमिटी बैठकस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।
'यो विषय अदालतमा गएको छ। हाम्रो अदालतप्रति भरोसा छ। संवधानको मर्म र भावना र देशको भावनाअनुसार प्रतिनिधसभा विघटनको निर्णय असंवैधानिक छ भन्ने फैसला गर्ने विश्वास लिएको छु,' उनले भने।
संसद् विघटन गर्ने विषय अदालतमा मात्र नभएर जनतामा पनि गएको पनि उनको भनाइ थियो। 'यो विषय अदातल मात्रै होइन। जनतामा पनि गएको छ। यो जनताको जिम्मेवारी भएको छ,' अध्यक्ष प्रचण्डले भने, 'सडकमा पनि गएको छ। सबै दलले आन्दोलनको घोषणा गरेका छन्। हामी पनि सडकमा गएका छौं। हामी आजैदेखि सडकमा गएका छौं।'
संसद् विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रिक गणतन्त्रलाई नै धरापमा पार्ने कदम चालेको उनको भनाइ थियो। 'अहिले प्रमुख राजनीतिक दलहरु सबै नागरिक समाज पत्रकार संवधिधानविद् र काननुनविद्हरु यो कदम संविधानविरोधी छन् भन्नेमा एक मत छन्। तर प्रधानमन्त्री ओलीले विघटनको प्रस्ताव गर्नुभयो र राष्ट्रपतिबाट स्वीकार गरिएको छ। यसले राजनीतिलाई जटिल ठाउँमा ल्यायो,' उनले भने।
सरकारको असंवैधानिक कदमविरुद्ध आवाज उठाउनु र आन्दोलन गर्नु सबैको काँधमा ऐतिहासिक जिम्मेवारी आएको उनको भनाइ थियो। लामो संघर्षबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने दायित्व आएको समेत उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।