नेपालगन्ज- बाँकेको कोहलपुरबाट बरामद भएको २५ टन खेसरी खाल्डो खनेर नष्ट गरिएको छ।
बर्दियाको भुरीगाउँबाट नारायणघाट गइरहेको ना ७ ख ६३२८ नम्बरको ट्रकबाट प्रहरीको क्षेत्रीय अनुसन्धान ब्युरोका निरीक्षक अरुणकुमार सिंहको कमाण्डमा खटिएको टोलीले सो परिमाणको खेसरी बरामद गरेको थियो।
मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने खेसरी अवैध ओसारपसार भइरहेको जनाउँदै क्षेत्रीय खाद्य तथा प्रविधि गुण नियन्त्रण कार्यालय नेपालगन्जले खाद्य ऐनको दफा ५ (३) बमोजिम जिल्ला प्रशासन कार्यालय बाँकेमा मुद्दा दायर गरेको थियो।
प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको इजलासले बरामद खेसरी नष्ट गर्ने र ओसारपसारमा संलग्नलाई जनही १९ हजार धरौटीमा छाड्ने आदेश भएपछि ट्रक चालक दीपेन्द्र गिरी, ट्रक धनी तथा बिक्री गर्ने बलबहादुर भण्डारी र खरिद गर्ने युवराज अधिकारी छुटेका छन्।
प्रहरीले खेसरीसहित चालक दीपेन्द्र गिरीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि क्षेत्रिय खाद्य तथा प्रविधि गुण नियन्त्रण कार्यालयमा बुझाएको थियो।
बरामद भएको खेसरी प्रशासन, प्रहरी, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिहरुको रोहबरमा खाल्डो खनेर नष्ट गरिएको खाद्य निरिक्षक विनोद श्रीवास्तवले बताए।
खेसरी दाल तथा बेसन बनाउने काममा प्रयोग हुन्छ। नेपाल सरकार कृषि मन्त्रालयले २०४९ पुस १३ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर खेसरीमा हुने टक्सिकले मानिस तथा पशुको स्वास्थ्यमा ज्यादै हानिकारक पार्ने र पक्षाघात समेत हुने उल्लेख गरी उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको थियो।
सरकारले उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध लगाए पनि तराईका जिल्लाहरुमा खुलेआम खेसरीको उत्पादन र बिक्री वितरण हुँदै आएको छ।
खाद्य ऐनको दफा ५ (३) बमोजिम खेसरी जस्ता खाद्य पदार्थको उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई ५ हजार देखि १० हजार रुपैयाँसम्म जरिवाना र १ वर्षदेखि २ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्न सक्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।