पोखरा– आगामी जेठ ४ बाट प्रदर्शनमा अाउने फिल्म ‘हैरान’ टिम यतिबेला पोखरा आइपुगेको छ। सो क्रममा विश्वकै कान्छा निर्देशकको दाबी गर्दै आइरहेका फिल्मका निर्देशक सौगात विष्टले 'हैरान' मसलायुक्त भएको बताए।
‘एक्सन, कमेडी ड्रामादेखि थ्रिलर सबै एकै ठाउँमा छ,' सौगातले भने, 'गिनिज बुकमा नाम लेखाउनु कुनै ठट्टाको विषय नभएकाले आफूले त्यही अनुरुप फिल्ममा न्याय गरेको छु।'
फिल्मका निर्मातासमेत रहेका नायक गजित विष्टले हैरानमार्फत आफू नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन लागिपरेको बताए। उनले, कान्छा निर्देशक र गिनिज बुक फरकफरक विषय भएको र राम्रो फिल्म कसरी बनाउन सकिन्छ भन्ने कुरा हैरानमा देखाउन खोजेको प्रस्ट पारे।
फिल्ममा ग्यारेज कामदारका रुपमा प्रस्तुत भएका सागर लम्साल ‘बले’ले यस फिल्मपछि आफ्नो चरित्रमा मा फरकपना आउने बताए। ‘बलेसँग कुनै छेउटुप्पो पनि मिलेको छैन। यसबाट दर्शकले मलाई नयाँ अवतारका रुपमा देख्नुहुनेछ,’ उनले भने।
फिल्ममा साहित्यकार बन्ने लक्ष्य बोकेको क्यारेक्टर बाध्यताले ग्यारेज कामदार बन्न पुगेको युवकका रुपमा आफू प्रस्तुत हुन लागेको लम्सालले बताए।
निर्देशक विष्टको हैरान दोस्रो फिल्म हो। यसअघि उनले ‘लब यु बाबा’ निर्माण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।