एजेन्सी–बजेटलाई निर्धारित मितिमा पारित गर्ने विषयमा गठबन्धन सरकारमा रहेका दुई दलबीच विवाद भएपछि इजरायलमा सरकार ढलेको छ। त्यहाँ २ वर्षमा चौथो पटक निर्वाचन गर्ने परिस्थिति सिर्जना भएको छ। इजरायलमा सम्भवतः अब आगामी मार्च २३ मा आमचुनाव हुनेछ।
प्रधानमन्त्री बेन्जामित नेतान्याहु र उनको गठबन्धनमा रहेको दल ब्लु एण्ड ह्वाइटका नेता बेनी गान्जले ७ महिना लामो सरकार ढल्नुमा एक अर्कालाई आरोप लगाएका छन्। ब्लु एण्ड ह्वाइट गठबन्धनबाट हटेपछि कोरोना महामारीमा अनावश्यक चुनावमा जाने अवस्था आएको नेतान्याहुले बताएका छन्।
आर्थिक स्थिरता र अर्थ व्यवस्थाको पुनस्र्थापना सुनिश्चित गर्नुको साटो देशलाई अनिश्चिततातर्फ लैजान व्यस्त रहेको आरोप नेतान्याहुमाथि लागेको छ।
यसअघिका तीन वटा चुनावपछि र कोरोना महामारी फैलिएपछि ब्लु एण्ड ह्वाइट पार्टी गत अप्रिलमा नेतान्याहुको सरकारमा सामेल भएका थिए। तर नेतान्याहु आफैंले भ्रष्टाचारको अभियोगको सामना गरिरहेकाले गठबन्धन राम्रोसँग चल्न सकेको थिएन।
नेतान्याहुले सुरुमा १८ महिना प्रधानमन्त्री चलाउने र त्यसपछि ब्लु एण्ड ह्वाइटका गान्जलाई दिने सहमति भएको थियो। तर मंगलबार रातिसम्म बजेट पारित नभए सरकार ढल्ने व्यवस्था रहेका कारण पुनः अर्को चुनावमा जानुपर्ने स्थिति सिर्जना भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।