काठमाडौं –परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भ्रमणको तयारी गरिरहेको जनाउँदै नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमण हुने स्पष्ट पारेको छ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति तय भइनसकेको जानकारी दिएका हुन्।
‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीज्यूको भ्रमण हुने नै छ। उच्चस्तरीय भ्रमणको तयारी परराष्ट्र मन्त्रालयबाट भइरहेकै हुन्छ,’ प्रवक्ता क्षेत्रीले भने, ‘भ्रमणको मिति तय भइरहेको छैन। मिति तय भइसकेपछि जानकारी गराउने नै छौँ।’
उनका अनुसार प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमणका लागि मन्त्रालयले गृहकार्य गरिरहेको छ। नेपाल र भारत दुवै पक्षको अनुकूलता हेरेर भ्रमणको समय निर्धारण गरिनेछ।
यसअघि परराष्ट्र मन्त्रालयले भ्रमणका क्रममा दुई देशबीच आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल गर्ने गरी एजेण्डा तयार पारिरहेको जनाएको थियो।
प्रवक्ता क्षेत्रीले प्रधानमन्त्रीको भारत भ्रमणको तयारीसँगै अन्य उच्चस्तरीय भ्रमणका एजेण्डामाथि पनि मन्त्रालयले काम गरिरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।