बिहार- बिहारका तीन न्यायाधीश सेवाबाट बर्खास्त भएका छन्। केही वर्ष पहिले नेपालमा महिलाहरूका साथ आपत्तिजनक अवस्थामा पक्राउ परेका उनीहरू सेवाबाट बर्खास्त भएका हुन्।
बिहार राज्यको सामान्य प्रशासन विभागले सोमबार यससम्बन्धी सूचना जारी गरेको हो। सूचनाका अनुसार यसरी बर्खास्त हुने न्यायाधीशहरूमा हरि निवास गुप्ता, जितेन्द्रनाथ सिंह र कोमल राम छन्।
सूचनाअनुसार उनीहरूको बर्खास्ती १२ फ्रेब्रुअरी २०१४ बाट लागू हुनेछ। यसरी बर्खास्त भएका तीन न्यायाधीशहरूको सेवा निवृत्तपछि पाउने सबै सुविधाबाट पनि बञ्चित हुनेछन्।
न्युज एजेन्सी पिटिआईका अनुसार उक्त समयमा गुप्ता समस्तीपुर न्यायालयका, अगरिया अतिरिक्त जिल्ला न्यायाधीश र अररिया अतिरिक्त सह मुख्य न्यायिक मजिस्ट्रेट पदमा कार्यरत थिए।
उनीहरुलाई विराटनगरको एक होटलमा प्रहरीले आपत्तिजनक अपस्थामा रंगेहात पक्राउ गरेको थियो। उनीहरु भारतीय न्यायाधीश भएको थाहा पाएपछि प्रहरीले उनीहरूलाई रिहा गरेको थियो। तर यो प्रकरण सञ्चारमाध्यममा सार्वजनिक भएपछि उनीहरुविरुद्ध छानबिन समिति गठन भएको थियो।
समितिको अन्तिम प्रतिवेदनपछि उनीहरूमाथि कारबाही गरेको हो। पटना हाइकोर्टले उनीहरूविरुद्ध जाँच आदेशसमेत दिएको थियो। लगत्तै उनीहरु सेवावाट बर्खास्त भएका थिए। यो फैसलाविरुद्ध सर्वाेच्चमा पुनरावेदन दिएका थिए। सर्वोच्चले गत वर्ष खारेज हुने फैसला गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।