काठमाडौं– अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को यतिबेला धमाधम छायाकंन भइरहेको छ। अघिल्लो साताबाट फिल्मले इलाममा भएको माई भ्याल्ली गोल्डकपबाट आफ्नो छायांकन प्रारम्भ गरेको थियो।
फिल्ममा अनमोल फुटबल खेलाडीको रुपमा देखिनेछन्। यसका लागि टिम यतिबेला झापाको दमक पुगेको छ। दमकमा जारी गोल्डकपमा सहभागी आवश्यक फुटेजहरु लिने काम भइरहेको छ।
यसै क्रममा मंगलबार सम्पन्न एपिएफ भर्सेस नेपाल पुलिसको खेल सुरु हुनुअघि अनमोल पनि टिममा सहभागी थिए। अनमोल एपिएफको जर्सी नम्बर ११ मा खेलमैदानमा देखिएका थिए। उनीसँगै फिल्मका अन्य कलाकारहरु सुनिल थापा, विल्सन विक्रम राई पनि खेलमैदानमै देखिए। तर टिममा अनमोल पनि छन् भनेर सुरुमा दर्शकले पत्तै पाएनन्।
भुवन केसीले निर्माण गरिरहेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन्।
‘क्याप्टेन’मा अनमोलको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी प्रस्तुत भएका छन्। प्रशान्त ताम्रकार भने अनमोलको फुटबल प्रशिक्षकको रुपमा प्रस्तुत हुने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।