नयाँदिल्ली–पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले भारतले पाकिस्तानविरुद्ध ‘सर्जिकल स्ट्राइक’ को योजना बनाइरहेको बताएका छन्। भारतले आफ्नो आन्तरिक तथा भारतप्रशासित कश्मीरको अवस्थाबाट ध्यान मोड्न यस्तो योजना बनाएको गुप्चतर संयन्त्रबाट थाहा भएको उनको भनाइ छ।
संयुक्त अरब इमिरेट्सको अबुधाबीमा आयोजित पत्रकार सम्मेलनमा उनले भारतले यस्तो हर्कत गरे पाकिस्तानले त्यसको जवाफ दिने पनि बताए।
उनले भने, ‘भारतमा अल्पसंख्यकविरुद्ध भइरहेका भेदभाव र कानुनविरुद्ध विरोध प्रदर्शनहरु भइरहेका छन्, यहीकारण भारत विश्वको ध्यान मोड्नका लागि सर्जिकल स्ट्राइकको योजना बनाइरहेको छ।’ भारतले यसो गरेर जारी अफगान शान्ति प्रक्रियासमेत यस क्षेत्रको शान्ति र स्थिरतामा खतरा उत्पन्न हुनसक्ने उनको भनाइ छ।
पाकिस्तानी विदेशमन्त्रीको यो भनाईका बारेमा भारतले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन । कुरेसीले भारतमा कोरोना भाइरसका कारण अर्थतन्त्रमा निकै हानी भएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।