इस्लामावाद–पाकिस्तानमा बलात्कारको घटनामा दोषी ठहर भएका व्यक्तिलाई नपुंसक बनाउने कानुन जारी भएको छ। बढ्दो बलात्कारको घटनालाई नियन्त्रण गर्न नयाँ कानुन ल्याईएको हो। यसअनुसार यस्तो मुद्दा फास्टट्र्याक अदालतबाट छिटो सुनुवाइ हुने व्यवस्था गरिएको छ।
नयाँ कानुनमा कडा व्यवस्था गरिएको छ। बलात्कारमा दोषी ठहर भएका व्यक्तिलाई औषधिको प्रयोगमार्फत् नपुसंक बनाउन सकिने प्रावधान काननमा राखिएको छ। मंगलबार पाकिस्तानका राष्ट्रपतिले बलात्कारविरोधी यो कानुनमा हस्ताक्षर गरेका हुन्। यो अध्यादेशमार्फत् यौन अपराधमा सहभागी व्यक्तिहरुको राष्ट्रिय अभिलेख तयार गरिने छ। पीडितको पहिचान गोप्य राख्नुपर्ने कानुनमा उल्लेख छ। यी मुद्दामा सुनुवाइका लागि विशेष फास्टट्र्याक अदालत गठन हुने छ । यो अदालतले चार महिनामा मुद्दाको फैसला सुनाउने छ।
पाकिस्तानको लाहोरमा भएको सामूहिक बलात्कारको घटनापछि सरकारले यस्तो कानुन ल्याएको हो। लाहौर बलात्कारपछि देशव्यापी रुपमा बलात्कार कानुन परिवर्तन हुनुपर्ने भन्दै आन्दोलन चर्केको थियो । एक महिला आफ्ना दुई सन्तानका साथ लाहोरतर्फ आइरहेको समयमा यो घटना भएको थियो। राजमार्गको किनारामा ती महिलामाथि आक्रमण गरेर दुई सन्तानकै अगाडि बलात्कार भएको थियो।
घटनाको भोलिपल्ट लाहोरका एक उच्च प्रहरी अधिकारीले पीडित पनि बलात्कारमा एकहदसम्म दोषी भएको टिप्पणी गरेका थिए। प्रहरीको यो टिप्पणीपछि आममानिस सडकमा उत्रे। सामूहिक बलात्कारजस्तो घटनामा प्रहरीको टिपणी र कानुन परिवर्तनको माग गर्दै देशभर आन्दोलन भयो। सरकारले कानुन संशोधन हुने प्रतिबद्धता जनाएपछि यो आन्दोलन रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।