बुटवल– बुटवल उप–महानगरपालिका र आसपासका क्षेत्रका सडकमा रहेका बेसहारा मानिसलाई राख्न आश्रम बनाइने भएको छ।
आश्रम निर्माण र सञ्चालन सम्बन्धी सम्झौतामा उप–महानगरपालिका र मानव सेवा आश्रम रुपन्देहीबीच हस्ताक्षर भएको छ। समझदारी अनुसार, सडकमा सहयोगापेक्षी मानिसहरुलाई स्याहार र औषधोपचार गरी पारिवारिक तथा सामाजिक पुनस्र्थापना जस्ता कार्यक्रमलाई प्रभावकारी बनाइनेछ।
बुटवल उप–महानगरपालिकालाई २०७५ असार मसान्तभित्रमा सहयोगापेक्षी सडक मानवरहित नगर घोषणा गर्नेगरी विशेष अभियान चलाइने भएको छ।
‘मान्छेको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्ने उद्देश्यले यो समझदारी गरिएको हो’, उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने, ‘यसमा अरु सामाजिक संघसंस्थाको पनि सहकार्य जरुरी छ।’
उप–महानगरपालिकाले सेवा सञ्चालन गर्न आवश्यक जग्गा तथा आवासको समेत व्यवस्थापन गर्ने भएको छ। उप–महानगरपालिकाले स्थापना गर्ने उक्त सहयोगापेक्षी सडक मानव आश्रमको अन्य सम्पूर्ण व्यवस्थापनको काम मानव सेवा आश्रम रुपन्देही शाखाले गर्नेगरी सम्झौता भएको बुटवल उप–महानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए।
उपमहानगरले अहिले नगरभित्र रहेका सडक मानवहरुको तथ्यांक संकलनको काम गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।